पाइपलाइनबाट प्रतिघन्टा २२० किलोलिटर इन्धन

    1129

    निर्माणाधीन पेट्रोलियम पाइपलाइनबाट प्रतिघन्टा २२० किलोटिर इन्धन आपूर्ति हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन(आईओसी)को संयुक्त लगानीमा निर्माण भएको पाइपलाइनबाट प्रतिघन्टा २२० किलोलिटरका दरले इन्धन आपूर्ति गरिने भएको हो । पाइपलाइनबाट ल्याएको तेल बाराको अमलेखगन्ज डिपोमा भन्डारण गरिने छ । मोतिहारी अमलेखगन्ज पाइपलाइन परियोजनाका संयोजक भानु खनालले मोतिहारीमा डिपो निर्माण भएपछि पाइपलाइनबाट प्रतिघन्टा २२० किलोलिटरका दरले इन्धन आपूर्ति हुने जानकारी दिए ।

    मोतिहारीमा डिपो निर्माण नहुञ्जेलसम्म प्रतिघन्टा १९१ किलोलिटरका दरले मात्रै पाइपलाइनबाट इन्धन आपूर्ति हुने उनले जानकारी दिए । “बजार माग धान्नको लागि प्रतिदिने ३ हजार ७ सय किलोलिटर इन्धन पाइपलाइनबाट आपूर्ति गरिनेछ,” उनले भने । उनका अनुसार प्रतिदिन १९ घन्टासम्म पाइपलाइन चल्छ । पाइपलाइनबाट ल्याएको तेल अमेखगन्ज डिपोमा जम्मा भइ उपत्यकासँगै अन्य जिल्लामा वितरण गरिने छ । अमलेखगन्जमा हाल इन्धनको भन्डारण क्षमता ४० हजार किलोलिटर रहेको छ । पाइपलाइनबाट ल्याएको इन्धन भन्डारण गर्नका लागि अमलेखगन्जमा नयाँ डिपो निर्माण भइहरेको छ । पाइपलाइन बिच्छ्याउने काम अन्तिम चरणमा पुगेकाले आगामी मार्च अन्तिम सातादेखि पाइपबाट तेल नेपालमा ल्याइने उनले जानकारी दिए । नेपालमा भित्रिने इन्धनमध्ये ६० प्रतिशत इन्धन पाइपलाइनबाट  आयात गरिने निगमले जानकारी दिएको छ । रक्सोलदेखि अमलेखगन्जसम्म पाइपलाइन निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको निगमले जानकारी दिएको छ । ९ किलोमिटरमा जंगल रहेकाले पाइपलाइन बिच्छ्याउन बाँकी रहेको छ । ९ किलोमिटर दूरीमा रहेका रुख कटानका लागि गणना गर्ने काम भइरहेको  निगमको भनाइ छ । २२.८ किलोमिटर दूरीमा पाइपलाइन बिच्छ्याउने काम दुई साताभित्र सकिने निगमको भनाइ छ । रक्सोलदेखि अमलेखगन्जसम्म आईओसीको प्राविधिक सहयोगमा पाइपलाइन निर्माणको काम भइरहेको छ । मोतिहारीदेखि रक्सोलसम्म आईओसीले पाइपलाइन निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । काम सुरु गरेको १० महिना भित्रमा पाइपलाइन निर्माणको काम अन्तिम चरणमा पु¥याएको निगमको भनाइ छ । मुलुकमा खपत हुने इन्धनमध्ये ६० प्रतिशत इन्धन रक्सोल र बरौनी नाकाबाट आउने गर्छ । पाइपलाइनबाट ६० प्रतिशत इन्धन आयात गर्दा  ढुवानी वापत वार्षिक दुई अर्ब रुपैयाँ बचत हुने जानकारी दिए । “बरौनी र रक्सौल नाकाबाट इन्धन ढुवानी गर्दा अहिले दुई ३५ करोड लागत लाग्ने गरेको छ,” संयोजक खनालले भने, “पाइपलाइनबाट इन्धन ल्याउदा वार्षिक झन्डै २ अर्ब बचत हुन्छ ।” पाइपलाइनबाट इन्धन ल्याउदा समयमा तेल आपूर्ति हुने, ढुवानी रकम बचत र वातावरण प्रदुषण नियन्त्रण हुने उनको भनाइ छ । रक्सोलदेखि अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी गर्दा प्रतिलिटरमा ६० पैसा कम हुने गर्छ । पाइपलाइनबाट तेल ल्याउदा लागत कम पर्ने हुँदा उपभोक्ताले समेत सस्तोमा तेल पाउने छन् । पहिलो चरणमा पाइपलाइनबाट डिजेल मात्र आयात हुने भएको छ । पाइपलाइनमा डिजेल आपूर्ति गरेपछि सफा गर्नका लागि बीचमा मटीतेल राख्नुपर्ने भएकाले पहिलो चरणमा डिजेल मात्र आयात गरिने निगमको भनाइ छ । बजारमा डिजेलको माग धेरै भएकाले पनि पाइपलाइनबाट डिजेल मात्र आपूर्ति गरिनेछ । आइओसीको २ अर्ब भारु र निगमको ७५ करोड लागतमा सो परियोजना सम्पन्न हुन लागेको हो । दोस्रो चरणमा अमलेखगन्जमा चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने तयारी भइरहेको निगमको भनाइ छ ।

    लक्ष्मी सापकोटा

    स्रोत:कारोबार