न्यादी जलविद्युत्को काम सुचारु

1426

चैत्र २, २०७६

चीनबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कारण निर्माण कार्य ठप्प ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको काम सुचारु भएको छ । आयोजनामा कार्यरत चिनियाँ कामदार फर्केपछि आयोजनाको काम सुचारु भएको आयोजनाले जनाएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुलेबीच भएर बग्ने ङादी खोलामा निर्माणाधीन आयोजनाको निर्माण कार्य ढेड महिनापछि पुनः सुचारु भएको छ ।

आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाका अनुसार आयोजनामा कार्यरत ५७ जना चिनियाँ कामदार दुई महिनाअघि गत माघ ६ गते नयाँ वर्ष मनाउन चीन गएका थिए ।

सोही समय चीनमा कोरोनाको सङ्क्रमण फैलिएपछि उनीहरू नेपाल फर्कन सकेका थिएनन् । गएका मध्ये विभिन्न चरणमा गरी ३८ जना कामदार फर्किसकेका छन् । उनीहरूले स्वास्थ्य जाँच गरेको र स्वस्थ रहेको पुष्टि भएपछि आयोजनाको काममा लागेका छन् ।

आयोजनामा ३८ जना कामदारसँगै १५ जना नेपाली कामदार पनि खटिएका छन् । यसअघि आयोजनामै रहेका तीन जना गरी चिनियाँ मात्रै ४१ जना छन् । एक जना काठमाडौँमा रहेको आयोजनाले जनाएको छ ।

नेपाली कामदार आइतबारदेखि काममा फर्कने बताएको प्रशासकीय प्रमुख गड्तौलाले बताउनुभयो । ‘पहिले चिनियाँ आएपछि स्थानीय डराएका थिए । कामबाट निस्किएका थिए’ उहाँले भन्नुभयो, ‘चिनियाँसँग कुनै पनि समस्या नभएको पुष्टि भएपछि उनीहरू आउँछौँ भनिरहेका छन् । अब काममा खटिने छन् । आयोजनामा ६१ जना चिनियाँ र ६७ जना नेपाली कामदार छन् ।

आयोजनाले वैशाख पहिलो साता आयोजनाको काम सक्ने भने पनि डेढ महिना काम ठप्प हुँदा निर्माण अवधि लम्बिने भएको छ । आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङका अनुसार आयोजनाको ८५ प्रतिशत काम सकिएको छ । सुरुङ निर्माण कार्य सकिएको छ । पावर हाउसको काम ९० प्रतिशत सकिएको छ । हेडवक्र्सको काम ७५ प्रतिशत सकिएको छ । मस्र्याङ्दी गाउँपालिका ३, खुदी टारीकुनास्थित नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा विद्युत् पु¥याउन १३२ के.भी. को साढे ५ किलोमिटर प्रशारण लाइन निर्माण भइहरेको छ । करिब ३० प्रतिशत काम सकिएको छ ।

आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्टरनेसनल कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । उनीहरूकै अगुवाई र सुपरभिजनमा नेपाली कामदारले काम गरिरहेका छन् ।

साबिक बाहुनडाँडा र भुलभुले गाविसको सीमा तथा हाल मस्र्याङ्दी गाउँपालिका ६ र ७ बीचको ङादीखोलामा उक्त आयोजना निर्माण हुनेछ । बुटवल पावर कम्पनी (बीपीसी) को ९७.२२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २.७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । करिब चार अर्ब ३८ करोड रुपियाँको लगानीमा सक्ने गरी डिजाइन भए पनि आयोजना निर्माण सक्दासम्म ब्याजसहित छ अर्ब रुपियाँ लाग्ने आयोजनाले जनाएको छ ।

आयोजनामा एभरेस्ट बैङ्कको नेतृत्वमा नबिल बैङ्क, ग्लोबल आईएमई बैङ्क, हिमालयन बैङ्क, सनराइज बैङ्क र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी रहेको छ । २०७३ चैत ३० बाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाँइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार ८४० मिटर सुरुङबाट पानी ल्याएर ठूली बेँसीबाट ताराचोक जाने बाटो ङादी नदीतिरमा बनाइएको विद्युत् गृहबाट विद्युत् उत्पादन गरिने छ ।

आयोजनामा दुईवटा पेलटन टर्बाइन रहने छन् । नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा चार रुपियाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपियाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।

स्रोत:गोर्खापत्र