दर्जन भन्दा बढी उद्योगका नाममा अर्बौको बक्यौंता तिर्न प्राधिकरणको पत्र

1314

२७ फाल्गुण, २०७५

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले लोडसेडिङका बेलामा ट्रंकलाइन मार्फत विद्युत प्रयोग गरेको भन्दै वारा-पर्सा औद्योगिक कोरिडरका दर्जन भन्दा बढी उद्योगका नाममा अर्बौको बक्यौंता तिर्न पत्र पठाउन थालेको छ।

प्राधिकरणको पत्रप्रति नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गर्दै ट्रंकलाइनमार्फत डेडिकेटेड फिडर नलिएका उद्योगीसँग अतिरिक्त महशुल नअसुल्न आग्रह गरेको छ।

‘नेपाल विद्युत प्रधिकरणबाट विद्युत संकलन विनियमावली २०७३ अनुसार विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारि गरिएको विलबाट उद्योग व्यवसाय संचालनमा ठूलो समस्या पर्न गएको भन्ने गुनासोप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघद्धरा जारी विज्ञप्तिमा भनिएको छ,‘उक्त विनियमावली अनुसार २० घण्टा वा सो भन्दा बढी समय ट्रङ्क प्रसारणबाट डेडिकेटेड सरहको प्रसारण सुविधा लिनका लागि छुट्टै सम्झौता गर्नुपर्ने व्यवस्था रहेकोमा सम्झौताविना विद्युत सेवा प्रवाहनै नगरि प्राधिकरणबाट एकै प्रकृतिको विद्युत सेवा लिनेहरूलाई फरकफरक दरमा महशुल असुल गरिंदा उद्योगी व्यवसायीको संविधानप्रदत्त हक समेत हनन हुन जाने भएकाले अविलम्व थप विलिङ नगर्न महासंघ अनुरोध गर्दछ।‘ महासंघले ट्रंकलाइन लिएकै आधारमा बढी महशुल लिने प्रकृया अघि बढाएमा सबै उद्योग बन्द गर्ने चेतावनी समेत दिएको छ।

कोरिडरमा रहेका जगदम्बा स्टील, बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल,हामा स्टील, हुलास स्टील लगायतका दर्जन भन्दा बढी उद्योगका नाममा डेडिकेटेड फिडर प्रयोग गरेवापत ६५ प्रतिशत महँगो विजुलीको रेट निर्धारण गर्दै महशुल तिर्न पत्र पठाएको हो। यो पत्र पाउनेवित्तिकै उद्योगका संचालकहरु अलमलमा परेका थिए। यो पत्रपछि अरु उद्योगीसमेत आतकित भएका थिए।

औद्योगिक क्षेत्रका लागि निर्धारण भएको महसुल तिर्दै आएका उद्योगीहरुले अर्बौको छुट्टै विल आएपछि त्यसलाई रोक्न उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले गत माघ २७ गते निषेधाज्ञा जारी गरेको थियो।

 

Source: The Bizmandu