तल्लो हेवाखोला जलविद्युतको काम स्थानीयले रोके

    2490

    स्थानीयसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पाँचथरको फिदिम ४ स्थित तल्लो हेवाखोला जलविद्युत परियोजनाको काम स्थानीयवासीले रोकेका छन् । समिति गठन गरि विहीबार विहानदेखि स्थानीय सरोकारवाला समितिले काम ठप्प पारेका हुन् ।

    माउण्टेन हाइड्रो पावर नेपाल प्रा.लि.ले पटक पटक भएको सहमति कार्यान्वयन नगरेको भन्दै सरोकार समितिले परियोजनाको काम नै विहीबारबाट ठप्प पारेको हो । समितिका सदस्य सचिव नरोत्तम थापाले यस अघि देखिको माग सम्बोधन गर्न कम्पनी तयार नभएपछि बाध्य भएर काम नै अवरुद्ध गर्नु परेको बताए । कम्पनी र समितिबीच २०७१ फागुन १४ गते भएको १० बुँदे सहमति कार्यान्वयन नभएपछि काम रोक्नु परेको स्थानीयको दावी छ । सम्झौतामा पीउने पानीको ब्यवस्था गर्ने लगायतका बिषय रहे पनि हाल कम्पनीले त्यसलाई आनाकानी गरेकोले आन्दोलित हुनु परेको उनीहरुको तर्क छ ।

    कम्पनीले सुरुङ निर्माण गर्न थालेपछि प्रभावित क्षेत्रमा पानीको मुहान पनि सुक्दै गएकाले पानीको अभाव भएको स्थानीयवासीहरुले बताएका छन् । आफनो मागको यथाशक्य सम्वोधन गर्नुपर्ने र नगरे जलविद्युत परियोजनाको काम अनिश्चतकालिन समयसम्म ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् ।

    २०७३ असार मसान्तसम्ममा बत्ति बाल्ने लक्ष्य राखिएको आयोजना करीव चार अर्ब रुपैयाँको लगानीमा सञ्चालन भइरहेको छ । आयोजनाबाट २१ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनामा ‘लिडिङ बैङ्क’को भूमिका प्राइम बैङ्कले निर्वाह गर्ने र कुल लगानीको ७५ प्रतिशत बैङ्क तथा बाँकी २५ प्रतिशत कम्पनी मार्फत गरिने निर्माणको जिम्मा पाएको कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाले बताए ।

    जिल्लाको नागीन गाविसको वडा नं. १ र फिदिम गाविसको वडा नं. ४ मा अवस्थित हेवा खोला र फेमे खोलाको पानीलाई मिसाएर आयोजना सञ्चालन भैरहेको छ ।

    स्रोत : अभियान