विद्युत् चुहावट गर्ने कारबाहीमा

    2192

    भक्तपुर — नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रले जिल्लाका विभिन्न स्थानमा विद्युत् चोरी गर्ने एक सय २३ उपभोक्तालाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको करिब ७ महिनायता विद्युत् चोरी गर्ने एक सय २३ उपभोक्तालाई कारबाही गरी २६ लाख ११ हजार राजस्व संकलन गरेको भक्तपुर वितरण केन्द्र प्रमुख प्रज्ज्वलमान श्रेष्ठले बताए ।

    प्राधिकरणका अनुसार विद्युत् चोरी गर्नेमा पछिल्लोपटक फागुनमा १७, माघमा २५, पुसमा १४, मंसिरमा ११, कात्तिकमा २३, असोजमा १३, भदौमा १६ र साउनमा १३ उपभोक्ता कारबाहीमा परेका छन् । विद्युत् चुहावट नियन्त्रणलाई कडाइ गर्न प्राधिकरणले विशेष र छड्के टोली कारबाहीका लागि पठाउँदै आएको जनाएको छ ।
    ‘चुहावट बढी भएको क्षेत्र हेरी दैनिक दुई टोली अनुगमनमा पठाएका छौं,’ उनले भने, ‘विद्युत् चोरी गर्न प्रयोग गरेको सामग्रीसहित नियन्त्रणमा लिई कारबाही गर्ने गरेका छौं ।’ चोरीमा संलग्न आफैं आएर आवश्यक जरिबाना तिर्ने गरेको उनले बताए ।
    प्राधिकरणले कालोसूचीमा परेका उपभोक्ताबाट ४ सय ६५ उपभोक्तामार्फत १ करोड ५८ लाख ४८ हजार ६ सय ७५ रुपैयाँ असुली गरेको लेखा शाखा प्रमुख घनश्याम श्रेष्ठले बताए । अझै ४ सय १ उपभोक्ता कालोसूचीमा परेका छन् । आर्थिक वर्ष ०७३/७४ मा विद्युत् चोरी गर्ने उपभोक्तालाई कारबाहीस्वरूप १ करोड २१ लाख २४ हजार ५ सय ७९ रुपैयाँ संलकन गरेको थियो । मुलुकमै बढी विद्युत् चोरी हुने जिल्लामा पर्ने भक्तपुरमा चुहावट नियन्त्रण गर्न नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रले जिल्लामा कार्ययोजना तयार गरी विद्युत् चुहावट नियन्त्रण अभियान जनाएको छ । प्राधिकरणका अनुसार केही वर्षअघिसम्म ६५ प्रतिशतसम्म विद्युत् चुहावट हुँदै आएको भक्तपुरमा चालु आर्थिक वर्षको ७ महिनामा भने विद्युत् चुहावट १९ प्रतिशतमा झरेको छ ।
    चुहावट नियन्त्रणका लागि पोस्टर, पम्प्लेट टाँस्ने, प्रचारप्रसार गर्ने, नगरमा कति विद्युत् खपत भइरहेको छ, त्यसको जानकारीका लागि प्रत्येक फिडरका बस्ती/बस्तीमा विद्युत् खपत देखाउने मेसिन जडान गरी मापन गर्ने कार्य गरी विद्युत् चुहावट न्यूनीकरण अभियान थालिएको प्राधिकरणका इन्जिनियर आशिष नेपालले बताए । चुहावट नियन्त्रणका लागि विभिन्न ठाउँमा जीर्ण बनेको तार फेर्ने, पुरानो मिटर फेर्ने, ज्वाइन टाल्ने, जनचेतनामूलक कार्यक्रम गर्ने विद्यालयस्तरदेखि नै विद्युत् बचाउ अभियान थालेको जनाएको छ ।
    स्रोत:कान्तिपुर