स्याङ्जाको नागडाँडामा अत्याधुनिक बायोग्याँस पावर प्लाण्ट सञ्चालनमा

    1451

    मङ्सिर ११, कास्की । खिलुङ् कालिका एग्रो फार्म प्रालिले स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लाण्ट सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक बायोग्याँस उत्पादन गर्ने उद्देश्यले कम्पनीले स्याङजाको पुतली बजार नगरपालिका वडानम्वर ४ नागडाँडामा बायोग्याँस पावर प्लाण्ट सञ्चालनमा ल्याएको हो ।

    अत्याधुनिक प्रविधिबाट नेपालमै ठुलो सङ्ख्यामा कुखुरा पालन र अण्डा उत्पादन गर्दै आएको यस कम्पनीले नयाँ प्रविधिको प्रयोग गरी बायोग्याँस पावर प्लाण्ट सञ्चालनमा ल्याएको हो । प्लाण्टबाट दैनिक १ हजार २ सय किलो बायोग्याँस, ३ सय ५० किलोवाट विद्युत र दैनिकरुपमा १५ टन अग्र्यानिक (जैविक) मल उत्पादन हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले बताए । उनका अनुसार कम्पनीबाट उत्पादित बायोग्याँस बजारमा उपलब्ध हुने एलपी ग्यास भन्दा २० प्रतिशत बढी टिकाउ र प्रभावकारी हनेछ । ‘कम्पनीबाट उत्पादीत ग्यास र जैविक मल एक, डेढ महीना भित्र ब्राण्डीङ्ग गरेर बजारमा ल्याउने तयारीमा छौ’ उनले भने ‘हाम्रो ब्राण्ड सरकारले तोकेको मापदण्ड अनुरुपको हुने छ ।’

    करीब ५० रोपनी क्षेत्रफलमा स्थापना भएको उद्योगमा खिलुङ्–देउरालीका ७ जना युवा व्यवसायी र उनीहरका आफन्तले ६० करोड रुपैयाँ लगानी गरेका छन् । पछिल्लो समय मेडिकल, हाइड्रोपावर र कृषिलगायतका क्षेत्रमा लगानी बढाएका युवा व्यवसायी खुमा अर्याललगायतले यस प्लाण्टमा लगानी गरेका हुन् । उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ८० जनाले रोजगारीसमेत पाएका छन् ।

    देशकै ठुलो कुखुरा फार्मबाट दैनिक उत्पादन हुने कुखुराको मल (सुली)लाई मुख्य कच्चा पदार्थको रुपमा प्रयोग गरेर कम्पनीले बायोग्याँस उत्पादन थालेको हो । कम्पनीले नियमितरुपमा उत्पादित १२ टन मल (सुली)लाई कच्चा पदार्थको मुख्य श्रोतका रुपमा प्रयोग गरेको छ । अन्य कच्चा पदार्थमा ४ टन गाई भैंसीको मल र करीव २ टन जैबिक पदार्थ मिश्रण गरी कच्चा पदार्थको रुपमा प्रयोग गरिएको छ ।

    एउटै प्लाण्टबाट नेपालमा बायोग्याँस, विद्युत र जैविक मल उत्पादन गर्ने यो पहिलो कम्पनी भएको दावी अधिकृत ढकालको छ । ‘दैनिक उत्पादन हुने आफ्नै कच्चा पदार्थलाई प्रयोग गरेर अन्य सहायक उद्योगहरु सञ्चालनमा ल्याएका हौं’ ढकालले भने, ‘एउटै प्लाण्टबाट तीन प्रकारका उत्पादन गर्ने कम्पनी नेपालकै प्रथम र अत्याधुनिक हो ।’

    फार्मले थप २० करोडको लागतमा नयाँ प्लाण्टहरु थपेको हो । कम्पनीका कार्यकारी अधिकृत ढकालका अनुसार उद्योगबाट उत्पादित बिद्युत कम्पनीले आफ्नै प्रयोजनको लागि प्रयोग गर्ने छ । विद्युतको उपयोग नभएको अवस्थामा कम्पनीले बायोग्याँस उत्पादन गर्ने छ । विद्युत र बायोग्याँस उत्पादन गर्न प्रयोग गरिने कुखुरा, गाईभैंसीको मल लगायत कच्चा पदार्थलाई अत्याधुनिक प्रविधि मार्फत जैविक मल उत्पादन गरिएको अधिकृत ढकालले बताए । ३ सय ३० किलोवाट क्षमताको विद्युत उत्पादन गरिरहेको प्लाण्टले दैनिक १५ टन अग्र्यानिक (जैबिक) मल उत्पादन गर्ने छ । कृषि मन्त्रालयले तोकेको मापदण्ड अन्तर्गत रहेर मल उत्पादन गरिने कम्पनीले जानकारी दिएको छ ।

    स्रोत:अभियान