पश्चिम सेती आयोजना बनाउन प्रधानमन्त्रीलाई ७५० पैसा !

2116

‘हिँजो आशा मर्यो, आज जवानी मर्दैछ, भोलि सपना मर्नेछ’

१ फागुन, काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन माग गर्दै दबाबमुलक कार्यक्रम गर्दै आएको बोलन्या थली धनगढीले कीर्तिपुरमा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

सदूरपश्चिमका कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रममा उठेको रकममध्ये ७५० पैसा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रमार्फत् बुझाउने बोलन्या थली धनगढीका संयोजक यादव जोशीले जानकारी दिए ।

‘कार्यक्रममा सहभागीहरुले स्वतःस्फूर्त रुपमा रकम दिँदा ५ हजार ३ सय ४५ रुपैयाँ संकलन भएछ, त्यसमध्ये सांकेतिक विरोधस्वरुप ७५० पैसा प्रधानमन्त्रीलाई ज्ञापनपत्रमार्फत् बुझाउँछौं,’ जोशीले भने ।

७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना बन्ने चर्चा वर्षौंदेखि भइरहे पनि काम सुरु हुन सकेको छैन ।

आयोजना बनाउन दबाब दिने उद्देश्यले कीर्तिपुरमा ‘आश्वासनका २८ वर्ष : पश्चिम सेती कहिले बन्छ ?’ ‘हिँजो आशा मर्यो, आज जवानी मर्दैछ, भोलि सपना मर्नेछ’ लगायतका नारासहित साँस्कृतिक कार्यक्रम गरिएको हो । सांस्कृतिक कार्यक्रममा अराज केशव, चक्र बम, विष्णु भट्ट, टंक तिमिल्सेना, चेतन बोहरा, महेश बीसी, सन्तोष रोकायालगायतका कालाकारहरु सहभागी थिए । उनीहरुले निःशुल्क प्रस्तुती दिएका थिए ।

दबाबमुलक कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा पत्रमञ्जुसा राख्ने र ‘पश्चिम सेती कहिले बन्छ ?’ भनेर प्रश्न गरिएका पत्रहरु प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम समेत तय गरिएको छ । ‘पश्चिम सेती सपनाका एक लाख चिठीहरु पत्रमञ्जुसामा संकलन गरी प्रधानमन्त्रीलाई दिने तयारीमा छौं,’ बोलन्या थली धनगढी अभियानका संयोजक जोशीले भने ।

वर्षौंदेखि अलपत्र पश्चिम सेतीबारे कुरा उठाउन माग गर्दै यसअघि अभियन्ताहरुले पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित सुदूरपश्चिमका संघीय सांसदहरुको ध्यानाकर्षण पनि गराएका थिए । ११ माघमा उनीहरुले माइतीघर मण्डलामा कचौरासहित प्रदर्शनसमेत गरेका थिए ।

 

स्रोत:अन्लाईनखबर