सिंहदरबारमा बल्ल सोलार

    1015

    काठमाडौः सात वर्ष अघिदेखि चर्चामा रहेको सिंहदरबारभित्र सौर्य ऊर्जा (सोलार प्लान्टं जडान गर्ने योजना बल्ल सुरु भएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा रहेका सरकारी कार्यालयहरूको छतमा सोलार जडान गर्ने २०६७ सालदेखिको सरकारको योजना बल्ल कार्यान्वयन सुरु भएको हो ।

    सोलारबाटै विद्युत् आपूर्ति गरेर सिंहदरबारलाई लोडसेडिङमुक्त बनाउने गरी सरकारले तत्कालीन अवस्थामा तयार गरेको लोडसेडिङ न्यूनीकरण योजनाअन्तर्गत चिनियाँ कम्पनीले एक मेगावाटको सोलार प्लान्ट निर्माण अघि बढाएको छ ।

    ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले सिंहदरबार र परिसरका भवनका छतछतमा सोलार प्लान्ट जडान सुरु भएको जानकारी दिए । “६ महिनाभित्र सोलार प्लान्ट जडान गरिसक्ने लक्ष्य छ, अहिले चिनियाँ कम्पनीले काम सुरु गरिसकेको छ,” उनले भने ।

    सोलार जडानका लागि अहिले ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसन लिमिटेड र परामर्शदाता कम्पनी चाइना न्यू इरा इन्टरनेशनल इन्जिनियरिङ कोअपरेसनले काम सुरु गरेको छ । हालसम्म बिमा समिति र बिमा कम्पनीमा अर्थिङ र रेलिङको काम सकिएको र जिल्ला अदालतमा भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

    चीन सरकारको करिब ५५ करोड अनुदानमा निर्माण हुने आयोजनाबाट उत्पादित विजुली नेपाल विद्युत् प्राधिकरणको सिंहदरबारमा रहेको ११ केभीको वितरण लाइनमा सिंक्रोनाइज गर्ने योजना छ । सिंहदरबारभित्र दिउँसाको लागि सोलारकै बत्ती उपयोग गर्ने लक्ष्य ऊर्जा मन्त्रालयको छ ।

    सिंहदरबारका ऊर्जा, अर्थ, परराष्ट्र, शिक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विज्ञान तथा प्रविधि मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, हुलाक क्षेत्रीय कार्यालय र रेडियो नेपाल तथा सिंहदरवारसँग जोडिएका जिल्ला विकास समिति, जिल्ला अदालत, बिमा समिति, वाणिज्य बैक लगायतका २० भवनका छतमा सोलार जडान गर्न लागिएको छ ।

    चिनियाँ टोलीले सिंहदरबारभित्रका ३५ र बाहिरका १५ सरकारी कार्यालयका छतबाट उत्पादन हुन सक्न विद्युत्बारे अध्ययन गरेको थियो । छतको आधारमा प्रत्येकले फरकफरक क्षमतामा विद्युत् उत्पादन गर्ने र त्यो उत्पादन सम्बन्धित कार्यालयमा खपत गराएर बढी भएमा प्राधिकरणको प्रणालीमा जडान गर्ने व्यवस्था गरिएको छ ।

    सुरुमा सिंहदरबारभित्रका छत उपयोग गर्दा सोलारबाट ५ मेगावाट  विद्युत् उत्पादन गर्ने अपेक्षा गरेपनि चिनियाँ कम्पनीले गरेको अध्ययनले एक मेगावाटमात्र उत्पादन गर्ने देखाएको थियो । टिनका छाना भएका, घाम कम लाग्ने लगायतका कारण कतिपय भवनहरू सोलारका लागि अनुपयुक्त देखिएका थिए ।

    सोलार जडान गर्न लागिएका कृषि अनुसन्धान केन्द्र (नार्क) र महिला तथा बालबालिका मन्त्रालयमा जडान गर्न समस्या देखिएपछि ऊर्जा मन्त्रालयले यी दुई  भवनबाट उत्पादन हुने ८० किलोवाट सोलार ऊर्जा, अर्थ  र परराष्ट्र मन्त्रालयको पार्किङ क्षेत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पार्किङ क्षेत्रमा समेत सोलार जडान गरेर उत्पादन गर्ने योजना बनाएको छ । सोलार जडानका लागि अधिकांश सामग्रीहरू चीनबाट आईसकेको र सोलार पाता कलकत्ता बन्दरगाह हुँदै आउनेक्रममा रहेको छ ।

    मन्त्रालयका अनुसार २०७० देखि चिनियाँ कम्पनीले सिंहदरबारभित्र सोलार जडानका लागि अध्ययन अघि बढेपनि २०७२ वैशाखमा भूकम्प आएपछि केही ढिलाइ भएको हो । भूकम्पका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनमा समेत क्षति भएपछि यहाँ सोलार राख्न सम्भव नहुने भएको छ ।

    स्रोत:कारोबार