निजीक्षेत्रको लगानी क्षमतामा वृद्धि

    1897

    काठमाडौं । यो वर्ष लागेको दुई महीना ९ दिनभित्र जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्र प्राप्त गर्नेको सङ्ख्या ५१ पुगेको छ । विद्युत् विकास विभागले उपलब्ध गराएको असार ९ गतेसम्मको अद्यावधिक तथ्याङ्कले यस्तो देखाएको हो । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिमा अनुमतिपत्र प्राप्त गर्नेको तुलनामा तीन गुणाभन्दा पनि बढी हो । अघिल्लो वर्षको यही अवधिमा अनुमतिपत्र प्राप्त गर्नेको सङ्ख्या केवल १६ रहेको थियो । अनुमतिपत्र प्राप्त गर्नेमा विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमतिपत्र प्राप्त गर्नेको सङ्ख्या अधिक छ । यो अवधिमा ४४ आवेदकले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेका छन् भने ७ आवेदकले उत्पादन अनुमतिपत्र प्राप्त गरेका छन् ।

    सबैभन्दा बढी जेठ महीनामा ३८ ओटा अनुमतिपत्र जारी भएका छन् । त्यसमध्ये सर्वेक्षणका लागि ३२ र विद्युत् उत्पादनका लागि ६ ओटा रहेका छन् । सबैभन्दा बढी अनुमतिपत्र १ देखि २५ मेगावाट विद्युत् उत्पादन तथा सर्वेक्षणका लागि दिइएका छन् । त्यसअन्तर्गत ३० ओटाले सर्वेक्षणका लागि र ५ ओटाले उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेका हुन् । अद्यावधिक तथ्याङ् अनुसार असारको हालसम्मको मितिमा केवल एउटा आयोजनाको सर्वेक्षण अनुमतिपत्र मात्र प्रदान गरिएको छ । उक्त अनुमति प्राप्त आयोजना फुकोट कर्णाली (४२६ मेवा) रहेको छ । उक्त आयोजनाको सर्वेक्षणको अनुमति सरकार मातहतमा रहेको विद्युत् उत्पादन कम्पनीले प्राप्त गरेको छ ।

    यसबाहेक यस अवधिमा सय मेगावाट माथिका अन्य चार आयोजनाले पनि सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेका छन् । त्यसमा डाँडागाउँ खलङ्गा भेरी जलविद्युत् परियोजना (१२८ मेवा)को सर्वेक्षणका लागि गेजुवा ग्रूप पावर इन्भेष्टमेण्ट नेपाल प्रालिले अनुमति प्राप्त गरेको छ । आँधीखोला जलाशययुक्त जलविद्युत् परियोजना (१८० मेवा)का लागि नेपाल विद्युत् प्राधिकरणले सर्वेक्षण अनुमति प्राप्त गरेको छ । बेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् कम्पनी प्रालिले बेतन कर्णाली जलविद्युत् परियोजना (६८८ मेवा)को सर्वेक्षण अनुमति प्राप्त गरेको छ । यो आयोजना सञ्चयकोषले आफ्ना सञ्चयकर्तालाई प्रदान गर्दै आएको मुनाफाबाट निर्माण गर्ने गरी अघि बढाइएको छ ।

    त्यसैगरी यही अवधिमा भेरी इनर्जी प्रालिले भेरी ४ (३०० मेवा) जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ ।

    २५ देखि १०० मेगावाट क्षमताभित्रमा सर्वेक्षण अनुमतिपत्र प्राप्त गर्ने सबै आयोजना ३० मेगावाटदेखि माथिका रहेका छन् । उक्त क्षमताको सर्वेक्षण अनुमति प्राप्त गर्ने सबै नै निजीक्षेत्रका कम्पनी रहेका छन् । यही अवधिमा सौर्य ऊर्जाको सर्वेक्षणका लागि पनि एउटा अनुमतिपत्र जारी भएको छ । कपिलवस्तु जिल्लामा भृकुटी सोलार पावर प्रोजेक्टको सर्वेक्षणका लागि फष्र्ट सोलार डेभलपर प्रालि नामक कम्पनीले अनुमति प्राप्त गरेको हो ।

    प्रस्तुत तथ्याङ्कहरूले एकातिर विद्युत् उत्पादनमा लगानी बढ्न थालेको सङ्केत गरेको छ भने २५ मेगावाट माथि हुँदै सय मेगावाट माथिका आयोजना प्रवद्र्धनमा समेत निजीक्षेत्रबाट लगानीको वातावरण बन्न थालेको देखिन्छ ।

    स्रोत: अभियान