प्राविधिकहरू सभाखोला जलविद्युत् निर्माण गर्दै

    3376

    Sabha Kholaचैत ४, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सिँचाइ विभागका इञ्जिनीयरहरूको संयुक्त लगानीमा सभाखोला जलविद्युत् आयोजना निर्माण शुरू भएको छ । ४ मेगावाट क्षमताको सो आयोजनामा कुल १ सय १ जना इञ्जिनीयरको लगानी रहेको प्राधिकरणका पूर्वकर्मचारी तथा इञ्जिनीयर बुद्धकृष्ण मानन्धरले अभियानलाई बताए । उनले भने, ‘दुवै निकायका हामी पूर्वकर्मचारी तथा इञ्जिनीयरहरूले त्यसका लागि ‘वानओवान कम्पनी’ (एक सय एक) नामक कम्पनी स्थापना गरिसकेका छौं ।’ सो कम्पनीले दिव्येश्वरी हाइड्रोपावर कम्पनीको ९५ प्रतिशत शेयर खरीद गरी सो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    प्राधिकरणका पूर्व निर्देशक तथा दिव्येश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनकृष्ण उप्रेतीले आयोजनाको काम दु्रतगतिमा अगाडि बढेको बताए । कम्पनीका अनुसार आयोजना निर्माणका लागि शेर्पा कन्ष्ट्रक्शनलाई छनोट गरिएको छ । आयोजना २०७१ सालभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । ‘कुनै ठूलो व्यवधान नआएमा आयोजनाको निर्माण कार्य २ वर्षमा सकिनेछ,’ उनले भने । आयोजना सङ्खुवासभा जिल्लामा रहेको छ । स्वदेशी लगानीमा निर्माण गरिएको आयोजनाको कुल लागत रू. ६२ करोड अनुमान गरिएको छ । कम्पनीले स्थानीय बासिन्दालाई पनि सहभागी गराएर आयोजना निर्माण गर्ने बताएको छ ।

    आयोजना निर्माणका लागि लगानीकर्ताबाट प्रतिव्यक्ति १० लाखदेखि १ करोड रुपैयाँसम्म उठाइएको उप्रेतीले बताए । उनका अनुसार आयोजना निर्माणका लागि चाहिने सबै प्राविधिक जनशक्ति कम्पनीसँग  छ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत बैङ्कबाट ऋण लिन लागिएको पनि उनले जानकारी दिए । बाँकी ३० प्रतिशत भने संस्थापक सदस्यबाट लगानी गरिने बताइएको छ ।

    आयोजनाबाट उत्पादित विद्युत् १२  किलोमिटरको दूरीमा रहेको तितेरी सबस्टेशनमा जोडिने छ । जलविद्युत् आयोजना निर्माण गर्न सक्ने अनुभवी जनशक्ति कम्पनीसँग रहेको आयोजनाका एक संस्थापक सदस्यले बताए । उनले भने, ‘हामीले गरेको कामको अनुसरण अरू समूहले पनि गर्नेछन् ।’ आयोजनाको निर्माण पूरा भएपछि नियमित आम्दानी हुने भएकाले पनि लगानी गर्नेको सङ्ख्या बढ्दै गएको स्रोतको भनाइ छ ।

    सो इञ्जिनीयर समूहले विनी हाइड्रोपावरले निर्माण गर्न लागेको १८ मेगावाट क्षमताको माथिल्लो सोलुमा पनि ५० प्रतिशत लगानी गर्दै छ । साथै समूहले कलेज, कृषिलगायतका क्षेत्रमा पनि लगानी गर्ने योजना रहेको बताइएको छ । समूहमा प्राधिकरणका पूर्वकर्मचारी भोजराज रेग्मी, युगलकिशोर शाह, केशव उपाध्यय, रामचन्द्र मण्डललगायतका व्यक्ति छन् ।

    प्रस्तुति: अभियान