मिदिम आयोजनालाई अनुमतिपत्र

    1394

    काठमाडौ, पुस ५ –
    Ministry of Energy ऊर्जा मन्त्रालयले मिदिम हाइड्रो पावरलाई जलविद्युत् आयोजना निर्माण गर्न बिहीबार उत्पादन अनुमतिपत्र -जेनेरेसन लाइसेन्स) दिएको छ ।
    मन्त्रालयले लमजुङवासी थीरबाबु घिमिरेसहितका प्रवर्द्धकहरू रहेको उक्त कम्पनीलाई लमजुङ जिल्लाको भुजुङ गाविसमा ३.४ मेगावाट क्षमताको मिदिम जलविद्युत् आयोजना निर्माण गर्ने अनुमतिपत्र दिएको हो । कम्पनीले करिब ७० करोड रुपैयाँ लगानीमा २० महिनामै उक्त जलविद्युत् आयोजना निर्माण गरी बिजुली उत्पादन गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।
    चार वर्षअघि सर्वेक्षण लाइसेन्स लिएको प्रालिले उक्त आयोजनाका वातावरणीय प्रभाव मूल्यांकन तथा विस्तृत इन्जिनियरिङ अध्ययनको कामसमेत सम्पन्न गरिसकेको छ । निर्माण सुरु गर्ने चरणमा पुगेको छ । ती अधिकारीका अनुसार उक्त आयोजना निर्माण गर्नका लागि बैंकबाट ऋण लिन कम्पनीले हाल्नुपर्ने ३० प्रतिशत इक्विटी -प्रवर्द्धकले सुरुमा हाल्नुपर्ने लगानी) समेत जुटाइसकेका छन् । बैंकहरूसमेत उक्त आयोजनामा लगानी गर्न तयार छन् । उक्त आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रालिले करिब ५ किमि लामो प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ । प्रवर्द्धकहरूले आफ्नो आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राधिकरणले सबस्टेसन समयमै नबनाइदिने हो कि भन्ने चिन्ता व्यक्त गरेको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।

    Source : Kantipur