मध्यमोदी जलविद्युत् आयोजनाको काम तीव्र

    1077

    पर्वत । जिल्लाको मोदीखोलामा निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजनाको काम अघि बढेको छ । १५ दशमलव १ मेगावाट (मेवा)को यो आयोजनामा स्थानीयको अवरोध र कामदारको अभाव हटेपछि निर्माणले गति लिएको आयोजना प्रमुख निरञ्जनबहादुर राउतले जानकारी दिए ।

    आयोजना प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन भएको र कामदारको समस्या अहिले हटेपछि लक्ष्यभन्दा बढी काम भइरहेको राउतले बताए । निर्माणको जिम्मा लिएको हिमाल हाइड्रोले गतवर्षदेखि सब–कण्ट्र्याक्टमा केही भागको काम फेवा कन्ष्ट्रक्शनलाई जिम्मा लगाएको थियो । उतिबेला फेवा २० मेवाको तल्लो मोदीमा व्यस्त थियो । हाल तल्लो मोदीको काम सकिएको कारण सबैजसो जनशक्ति मध्यमोदीमा केन्द्रित गरेर काम भइरहेको उनले बताए ।

    उनले भने, ‘मनसुनअघि फाउण्डेशन सकेर पानीको सतहभन्दा माथिसम्म कङ्क्रिटिङ गर्ने योजना छ ।’ अहिले टनेल, बाँध र पावरहाउस निर्माणको काम अघि बढेको छ । पछिल्ला ५ महीनामा मात्रै निर्माणतर्फ समग्र क्षेत्रको भौतिक प्रगति करीब १५ प्रतिशतले बढेको आयोजना निर्माण पक्षले जानकारी दिएको छ । कुनै आकस्मिक अवरोध नभए आगामी फागुनदेखि व्यावसायिक उत्पादन गर्नेगरी काम अघि बढेको उनले बताए ।

    हालसम्म आयोजनाको निर्माण ६० प्रतिशत हाराहारी सम्पन्न भइसकेको छ । अहिले बाँधको निर्माण लगभग सकिँदै छ । ‘टनेलको निर्माण र ट्रान्समिशन लाइन अघि बढेको छ,’ उनले भने, ‘प्राविधिकतर्फको काममा समस्या छैन ।’ उत्पादित विद्युत् देउपुरको केरुङमा जोड्ने गरी दुईओटा टावर निर्माणको प्राविधिकतर्फको काम अघि बढेको छ । बाँध निर्माणको काम अन्तिम चरणमा रहेको छ भने २ हजार १ सय १० मिटर सुरुङ निर्माण सकिएको छ । आयोजनाका इञ्जिनीयर अशोक आचार्यका अनुसार ट्रान्समिशन लाइन निर्माणको काम अघि बढेको छ ।

    आयोजनाको निर्माण २०७१ मङ्सिरमा शुरू भई गत मङ्सिरभित्र सक्ने लक्ष्य थियो । तर, स्थानीयको अवरोध, मुआब्जाको विवाद, भूकम्प, नाकाबन्दी, कामदारको अभावजस्ता कारण घोषित मितिमा काम सकिएन । चौधरी ग्रुपका सञ्चालक उद्योगपति विनोद चौधरीले २०७१ मङ्सिर ७ मा २ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गर्दै आयोजना निर्माण शुरू गरेका थिए ।

    स्रोत:अभियान