बिजुली बसको लोभलाग्दो सपना

    1162

    काठमाडौंको हावामा सास फेर्नु अहिले रोग निम्त्याउनुजस्तै भएको छ

    मंसिर २०,२०७५
    प्रदेश नम्बर ३ को सरकारले साझा यातायातसँग मिलेर विद्युतीय बस चलाउने र २०८५ सालसम्ममा प्रदेशका पाँचवटा सहरमा पूरै विद्युतीय सवारीमात्र चलाउने योजना बनाएको बताएका छन् । उनले यही आर्थिक वर्षभित्रै साझा यातायातको ३० करोडको सेयर प्रदेश सरकारले खरिद गरेर विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गर्ने पनि जानकारी दिए । काठमाडौं उपत्यकाको कचौरा आकारले यहाँको धुवाँ भित्रै रङमङ्गिन्छ । यसैले उपत्यकाबाहिरका सहरहरू भन्दा काठमाडौंको हावा पनि बढी प्रदूषित भएको हो । अहिले काठमाडौंको वायुमण्डलको हावा मानव स्वास्थ्यका लागि खतराको विन्दुभन्दा धेरै विषालु छ । यहाँको वायु प्रदूषण नियन्त्रण गर्न प्रभावकारी कदम नचाल्ने हो भने आउने केही वर्षभित्रै काठमाडौं मानव बसोवासका लागि अयोग्य सहर बन्न पुग्नेछ । सबै तहका सरकार र निजी क्षेत्रले पनि मिलेर योजनाबद्धरूपमा वातावरण मैत्री यातायातको विकास गर्न खोज्ने हो भने नेपालको वायु प्रदूषण धेरै कम गर्न सकिन्छ ।

    नेपालमा वायु प्रदूषण मूलत सवारी साधनले फाल्ने र घस्यौटा, दाउरा, गुइँटा, कोइला पोल्दा आउने धुवाँ एवं सडक, भवन निर्माणका क्रममा उँड्ने धुलोबाट बढ्ने हो । उपत्यकाको धुवाँ धुलोलाई उँडाएर लैजाने हुरी आउन थालेपछि कम हुने प्रदूषण वर्षायाममा मात्र केही कम हुन्छ । यसैले हिउँदमा श्वासप्रश्वासलगायतका बिरामीहरूको संख्या निकै बढ्ने गरेको हुनुपर्छ । काठमाडौंको जनजीवनमा प्रदूषित हावाबाट परेको असरको आर्थिक र मानवीइ मूल्यको अध्ययन भएको थाहा छैन । तर, भारतमा नयाँ दिल्लीको प्रदूषणका कारण औसत आयु १० वर्ष कम भएको एउटा अध्ययनले देखाएको समाचार सार्वजनिक भएको छ । नयाँ दिल्लीकै स्तरको नभए पनि काठमाडौंको प्रदूषण कम बिखालु भने छैन । यसैले विद्युतीय सवारीको व्यापक सञ्चालन भएमा इन्धन आयातमा गर्ने खर्च घट्ने त छँदैछ जनस्वास्थ्यमा हुने सुधारबाट स्वास्थ्योपचारमा हुने खर्चको बचत हुनेछ ।

    काठमाडौं र ललितपुर महानगरले यसअघि नै साझा यातायातसँग सहकार्य गरेर सहरी यातायात सुविधा बढाउने काम थालेका छन् । अब प्रदेश नम्बर ३ को सरकार पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिएर यसमा सामेल हुने भएको छ ।  राज्यको स्वामित्व रहेको साझा यातायातलाई नै पुँजी उपलब्ध गराएर सार्वजनिक यातायातलाई सुलभ र सुविधाजनक तथा प्रदूषणरहित बनाउने सोच सराहनीय हो । राज्यले सार्वजनिक यातायात सेवा पूरै निजी क्षेत्रलाई सुम्पेको परिणाम अहिले देशमा यस क्षेत्रमा विकृति बढेको हो । प्रदेश नम्बर ३ को सरकार, काठमाडौं र ललितपुर महानगरपालिकासँगै देशभरका स्थानीय र प्रादेशिक सरकारहरूले सार्वजनिक यातायात सेवा सुलभ र सुविधाजनक बनाउन लगानी गरेमा यातायात सेवामा ठूलै परिवर्तन हुनेछ । त्यसमाथि सबैले प्रदूषण नियन्त्रणमा पनि जोड दिए त सुनमा सुगन्ध भनेजस्तो हुने निश्चित छ ।

     

    स्रोत:बाह्रखरी