एमसीसी पर्खेर ऊर्जा क्षेत्रको कामका लागि नबसौं : मन्त्री रायमाझी

1423

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पर्खेर बस्न नहुने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्न नहुने बताए । एमसीसी लागू गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उनको भनाइ छ ।
विद्युत् खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेको भन्दै उनले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरू देशकै लगानी अथवा अरू नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री रायमाझीले बेला–बेलामा विद्युत् जाने समस्या विद्युतभार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पारे । विद्युतको अपर्याप्तताका कारण विद्युत् काटिएको नभइ पुरानो संरचनाका कारण बेला–बेला जाने गरेको उनले बताए ।
उनले देशको राजनीतिक प्रणाली र परिवर्तनको मुद्दाहरू नै गुम्ने स्थिति आएको कारण मध्यावधि निर्वाचनमा जानुपरेको जिकिर गरे । मध्यावधि निर्वाचनमा जानु प्रगतिशील कदम भएको उनको टिप्पणी छ । उनले प्रतिपक्षी दलहरू निर्वाचनमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने बताए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीबारदेखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल–भारतबीचको अन्तर्विरोध न्यूनीकरण गर्ने विषयमा छलफल हुने उनले जानकारी दिए ।

स्रोत -कारोबार