विद्युत प्राधिकरणलाई एक नम्बर संस्थान बनाउछौं ः ऊर्जा मन्त्री

1560

चालु आवमा साढे ८ अर्ब नाफा कमाउने 

काठमाडौं,१ भदौं २०७६

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणलाई सरकारी संस्थानहरुमध्ये एक नम्बरको बनाउनको घोषणा गरेका छन् । उनले चालु आर्थिक वर्षमा प्राधिकरणलाई  साढे ८ अर्ब रुपैयाँभन्दा बढी नाफामा लैजाने घोषणा पनि गरेका छन् ।

प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले गत आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणको उपलब्धि र गौरबको वर्ष भएको बताए । ‘कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मेहनत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ठ बन्न सफल भएको छ’, प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका पुनले भने । ‘अधिकांश संस्थाहरु घाटामा चलिरहंदा प्राधिकरण खुद नाफा कमाउने अवस्थामा पुगेको छ, अव यसलाई एक नम्बर संस्थान बनाउने छौं ।’

तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको प्राधिकरणले त्यसपछि निरन्तर नाफा कमाउँदै आएको छ । आर्थिक वर्ष (आव) २०७५÷७६मा प्राधिकरण ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संचित नोक्सानी करिब १५ अर्बमा झरेको छ ।

गत आर्थिक वर्षमा विद्युत चुहावटलाई १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ । आब ०७४÷७५मा २०.४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५.१३ प्रतिशत विन्दुलाई घटाएर १५.३२ प्रतिशतमा झारिएको हो ।

नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै मन्त्री पुनले आगामी दिनमा मुलकमा पर्याप्त विद्युत उत्पादन भई भारत वंगलादेशसँग विद्युत व्यापारका लागि सौदाबाजी गर्न सक्ने अवस्था पुग्ने बताए ।

मिटर नदिने, ट्रान्सफर्मर परिवर्तन नगर्ने जस्ता ग्राहकसँग प्रत्यक्ष जोडिएका विषयमा गुनासो आउने गरेको बताउँदै मन्त्री पुनले सेवा सुधार गरी ग्राहकमैत्री बन्न कर्मचारीलाई निर्देशन दिए । ‘उत्पादन, प्रसारण र वितरणको लागत घटाउने, प्रशासनिक खर्चलाई नियन्त्रण गर्ने जस्ता क्रियाकलापबाट लागतलाई कम गराई उपभोक्तालाई सस्तो विजुली दिनु पर्छ’, उनले भने ।  ‘विगतमा उच्यालो दिन जुनौतिपूर्ण थियो अब भरपर्दो र गुणस्तीय सेवा दिनु पर्ने चुनौती छ ।’
ऊर्जा सचिव एवं प्राधिकरण संचालक समितिका सदस्य दिनेश कुमार घिमिरेले विद्युतको खपत बढाउनु अव चुनौतीपूर्ण रहेको बताए ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ्ग स्टेशनहरु निर्माण गरी विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने, खाना पकाउने ग्यासलाई विद्युतीय चुल्होले प्रतिस्थापन गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गरी स्वदेशमा विद्युतको आन्तरिक खपत वृद्धि गर्नेतर्फ विशेष जोड दिइने बताए । ‘उत्कृष्ट सेवा प्रवाहको माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन सके प्राधिकरण प्रति सबैको विश्वास अभिवृद्धि हुने र यसबाट संस्थाको विकास र सुदृढीकरणका लागि पर्याप्त अवसरहरु श्रृजना हुनेमा विश्वस्त छौं’उनले भने । ‘आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भब प्रयास गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।’
कार्यक्रममा गत वर्ष उत्कृष्ठ कार्यसम्पादन गर्ने १५ कर्मचारी, कार्यालय लगायतलाई सम्मान गरिएको थियो ।