विद्युत प्राधिकरणका कार्यालय संघीय संरचनाअनुसार समायोजन

1191

काठमाडौं,३० साउन २०७६ । मुलुक संघीय संरचनामा गएसँगै नेपाल विद्युत प्राधिकरणले मुलुकभर रहेका आफ्ना कार्यालय पनि सोहीअनुसार समायोजन गरेको छ । प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालयहरु र वितरण केन्द्रहरुलाई समायोजन गरेको हो ।
क्षेत्रीय कार्यालयहरुको नाम परिवर्तन गरी प्रादेशिक कार्यालय नामाकरण गरिएको छ । ७ वटै प्रदेशमा वितरण तथा ग्राहक सेवाका प्रादेशिक कार्यालय रहने छन् । यसअघि क्षेत्रीय कार्यालयको रुपमा रहेका हैटौडा र नेपालगंजलाई प्रदेश नम्बर क्रमश ः तीन र पाँचको डिभिजन कार्यालयमा परिणत गरिएको छ । यसअघि प्रदेश नम्बर तीनमा काठमाडौं तथा हेटौडा र प्रदेश नम्बर पाँचमा बुटवल तथा नेपालगंजमा क्षेत्रीय कार्यालय थिए ।
प्राधिकरण संचालक समितिको १८ पुस २०७५को ७८३ औं बैठकले क्षेत्रीय कार्यालय र त्यस मातहत रहेका वितरण केन्द्रहरुलाई मुलुकको संघीय संरचनाबमोजिम संचालन र व्यवस्थापन गर्ने निर्णय गरेको थियो । प्राधिकरणले बुधबार परिपत्र जारी गर्दै कार्यालय समायोजन गर्ने निर्णय कार्यान्वयमा ल्याएको हो ।
प्रदेश नं १को प्रदेशिक कार्यालय, विराटनगर अन्तर्गत २४ वितरण केन्द्रहरु रहेका छन् । यस अघि जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेका उदयपुर,ओखलढुंगा र दिक्तेल वितरण केन्द्रलाई १ नं प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ ।
प्रदेश नं २को प्रादेशिक कार्यालय जनकपुर अन्तर्गत २३ वितरण केन्द्रहरु रहेका छन् । यसअघि हेटौडा क्षेत्रीय कार्यालयअन्तर्गत रहेका विरगंज, सिमारा,कलैया,गौर,चन्द्रनिगाहापुर र पोखरिया वितरण केन्द्रलाई २ नं प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ ।
प्रदेश नं ३ काठमाडौं प्रादेशिक कार्यालय र हेटौडा डिभिजन कार्यालय अन्तर्गत क्रमश ः २० र ६ वितरण केन्द्र राखिएको छ । यसअघि जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत रहेको सिन्धुली वितरण केन्द्रलाई हेटौडा डिभिजन कार्यालय अन्तर्गत रहने व्यवस्था गरिएको छ ।
गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत १३ वटा वितरण केन्द्रहरु रहने छन् । यसअघि बुटवल क्षेत्रीय कार्यालय मातहतमा रहेको कावासोती वितरण केन्द्रलाई गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत रहने व्यवस्था गरिएको छ ।
प्रदेश नं ५को बुटवल प्रादेशिक र नेपालगंज प्रदेश डिभिजन कार्यालयअन्तर्गत क्रमश ः ११ र १० वितरण केन्द्रहरु रहने छन् ।
कर्णालीको सुर्खेत र सदूरपश्चिमको अत्तरिया प्रादेशिक कार्यालयअन्तर्गत क्रमश ः १० र १२ वितरण केन्द्रहरु छन् ।