कुलमानलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्ड

    1586

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित हुने भएका छन् ।
    इमेज च्यानलले नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै कार्यकारी निर्देशक घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ विशेष सम्मान प्रदान गर्न लागेको हो ।
    कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी २० असोजमा अवार्ड वितरण गरिने जनाएको छ । यस अघि सरकारले गणतन्त्र दिवस–२०७४को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो । यसबाहेक अन्य कयौं संस्थाले घिसिङलाई सम्मान गरिसकेका छन् ।
    दुई वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । २०७५ सालको बैशाखबाट मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।
    उनकै नेतृत्वमा आर्थिक वर्ष आर्थिक वर्ष २०७२÷७३मा रु.८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३÷७४मा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । आव ०७४÷७५मा प्राधिकरणको नाफा रु १ अर्ब १ करोड आर्जन हुने प्रक्षेपण गरिएको छ, संचालन नाफा रु ७ अर्ब ८६ करोड रहेकाले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि खूद वार्षिक नाफा हाल प्रक्षेपितभन्दा अझै बढ्ने अनुमान गरिएको छ ।
    घिसिङकै नेतृत्वमा गत आवमा विद्युत चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सवैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशःकरिव ५.५ प्रतिशत र करिव १४.५प्रतिशत रहेको छ । चालू आवमा विद्युत चुहावटलाई १८.५प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ ।
    प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत तथा प्रसारण लाइन आयोजनाका कामले पनि तिब्रता पाएको छ ।