International contractors of big projects – back home

    1120

    ठूला आयोजनाका विदेशी ठेकेदार स्वदेश फर्किए

    contractors-eq

    काठमाडौं, ५ जेठ निर्माणाधीन ठूला आयोजनामा काम गरिरहेका विदेशी ठेकेदार कम्पनी भूकम्पपछि स्वदेश फर्किएका छन् । भूकम्पबाट काबुबाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएको भन्दै उनीहरू सम्बन्धित आयोजनालाई सूचना दिएर स्वदेश फर्केका हुन् । ठेकेदार कम्पनीहरूसितको सम्झौतामा काबुबाहिरको परिस्थिति उत्पन्न भए काम रोक्न सकिने व्यवस्था छ ।१२ वैशाखको भूकम्प र त्यसपछि निरन्तर गइरहेको पराकम्पनबाट असुरक्षित भएको भन्दै ठेकेदार कम्पनीहरूले आयोजनामा कार्यरत विदेशी कामदारलाई पनि स्वदेश फर्काएका छन् । भूकम्पले सिर्जना गरेको मनोवैज्ञानिक त्रासले कोही पनि आयोजनामा काम गर्न अहिले तयार छैनन् । ठेकेदार कम्पनी नै गएपछि आयोजना निर्माण अनिश्चित बनेको छ । भूकम्पले आयोजनास्थलसम्म पुग्ने सडक भत्काएकाले आयोजनाहरूमा पुगेको क्षतिको यकिन पनि हुन सकेको छैन । निर्माणाधीन सबै आयोजना तोकिएको समय र लागतमा नबन्ने निश्चित भएका छन् । काठमाडौं र सिन्धुपाल्चोकमा पर्ने मेलम्ची खानेपानी, दोलखामा रहेको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, रसुवाको एक सय ११ मेगावाटको रसुवागढी, नुवाकोट र रसुवामा पर्ने ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका ठेकेदार काम रोकेर स्वदेश फर्केका छन् । विस्तृत अध्ययन भइरहेको १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाको परामर्शदाता फ्रान्सेली कम्पनी ट्राक्टवेल इन्जिनियरिङ पनि स्वदेश फर्केको छ । यो आयोजना गोरखा र धादिङमा पर्छ । ठेकेदार फर्किएका सबै आयोजना सरकारले संकटग्रस्त घोषणा गरेका जिल्लामा पर्छन् । मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले काबुबाहिरको सूचना दिँदै इटालियन ठेकेदार कम्पनी सिएमसीले काम स्थगित गरेको बताए । ‘भूकम्प आउनुअघि ठेकेदार कम्पनीले स्वदेशी तथा विदेशी गरी ६ सयभन्दा बढी कामदार परिचालन गरेको थियो, ठेकेदारले अहिले विदेशी कामदार स्वदेश फर्काएको जानकारी दिएको छ, स्वदेशी कामदार पनि अधिकांश सिन्धुपाल्चोकका थिए । उनीहरूको घर पनि ध्वस्त भएकाले काम गर्न सक्ने अवस्थामा छैनन्,’ भट्टराईले भने । ठेकेदार कम्पनीलाई तत्काल काम सुरु गर्न आयोजनाले दबाब दिइरहेको कार्यकारी निर्देशक भट्टराईले बताए । ‘आयोजनास्थलसम्म पुग्ने सडकमा क्षति पुगेको छ, सुरुङभित्र जान सबै डराएकाले क्षति यकिन गर्न सकिएको छैन,’ उनले भने । राष्ट्रिय गौरवको यो आयोजनाबाट १ वैशाख ०७३ भित्र काठमाडौं उपत्यकामा खानेपानी झार्ने लक्ष्य राखिएको थियो । २७ दशमलब ५ किलोमिटर सुरुङमध्ये अहिलेसम्म १२ दशमलब ६ मिटर मात्रै खनिएको छ । दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसीका चारवटै ठेकेदार कम्पनीले ‘फोर्स मेजर’को सूचना दिँदै काम रोकेका छन् । उनीहरूले विदेशी कामदारलाई पनि स्वदेश फर्काएका छन् । बर्खाअघि काम सुरु गर्न नसक्ने जानकारी उनीहरूले आयोजनालाई गराएका छन् । ‘१२ वैशाखको भूकम्पबाट खासै क्षति पुगेको थिएन, क्षति पुगेको सडक मर्मतसम्भार गर्न सिभिल ठेकेदारलाई निर्देशन दिइसकेका थियौँ, दोलखामा केन्द्रबिन्दु बनाएर दोस्रो भूकम्प गएपछि पहिरो गएकाले सबै त्रसित भएर काम रोकेका छन्,’ आयोजनाका सहायक प्रबन्धक विमल गुरुङले भने । सिभिल, हाइड्रो मेकानिकल, मेकानिकल तथा इलेक्ट्रिकल र प्रसारण लाइन तथा सबस्टेसन निर्माण तीव्र रूपमा भइरहेको थियो । आयोजनाको सिभिलतर्फ चिनियाँ कम्पनी सिनो हाइड्रो, हाइड्रो मेकानिकलतर्फ भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ, मेकानिकल तथा इलेक्ट्रिकलतर्फ अस्ट्रियाको एन्ड्रिज हाइड्रो जिएमबिएच र प्रसारण लाइन तथा सबस्टेसनतर्फ भारतीय कम्पनी केइसी इन्टरनेसनल ठेकेदार हुन् । सिँगटी–लामाबगर खण्डमा भूकम्पसँगै पहिरो गएपछि आयोजनाको प्रवेशमार्ग पूर्ण रूपमा क्षति भएको छ । बाटो अवरुद्ध भएपछि त्यहाँका कर्मचारीलाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको थियो । ‘लामाबगर सुरक्षित छ, तर त्यहाँसम्म पुग्ने सडक पहिरोले भत्काएपछि काम सुरु गर्न सक्ने अवस्था छैन,’ सहायक प्रबन्धक गुरुङले भने । आयोजनाको इन्टेक १७ सेन्टिमिटर भासिएको छ । सुरुङ, बाँध, विद्युत्गृहलगायतका भौतिक संरचनामा भने कुनै क्षति नपुगेको आयोजनाले जनाएको छ । माथिल्लो तामाकोसी पनि राष्ट्रिय गौरवको आयोजना हो । बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतले परामर्शदाता कम्पनीका विज्ञ ‘फोर्स मेजर’को सूचना दिएर फ्रान्स फर्किएको बताए । ‘ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार फोर्स मेजर आकर्षित भएको सूचना दिँदै केही समयका लागि काम स्थगित गर्ने जानकारी गराएका छन्,’ बस्नेतले भने, ‘२९ वैशाखमा पुन: भूकम्प आएपछि उनीहरू झन् डराएका छन् ।’ काठमाडौंस्थित फ्रान्सेली दूतावासले सुरक्षित वातावरण बनेको बताएपछि मात्रै आफूहरू काममा फर्कने ठेकेदार कम्पनीका विज्ञहरूले जानकारी गराएका छन् । परामर्शदाता कम्पनीले आगामी १५ साउनभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विकास समितिलाई बुझाइसक्नुपर्ने ठेक्का सम्झौतामा व्यवस्था छ । विद्युत् प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी)ले पनि काम रोकेको छ । ‘फोर्स मेजर’को सूचना दिँदै कम्पनीले काम रोकेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । भूकम्पसँगै गएको पहिरोले ठेकेदारको स्काभेटर, डोजर, हेभी इक्विपमेन्ट, प्रयोगशालालगायतमा पूर्ण रूपमा क्षति पुगेको छ । पहिरोले बालुवा थिग्य्राउने बेसिनमा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ । आयोजनाको प्रवेशमार्ग पनि पहिरोले थुनेको छ ।

    स्रोत: सचेन गौतम/नयाँ पत्रिका