जलविद्युत् विकास कम्पनीको शेयर प्रमाणपत्र जेठमा

    1132

    जलविद्युत् विकास कम्पनीको शेयर प्रमाणपत्र जेठ महीनामा वितरण गरिने भएको छ । वैशाखमा नै वितरण गर्ने भनिए पनि प्राविधिको समस्याका कारण प्रमाणपत्र जेठ दोस्रो सातादेखि मात्रै वितरण गरिने कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोषले बताएको छ । कोषका अनुसार प्रमाणपत्र छापिने, हस्ताक्षर गर्ने काम पनि सम्पन्न भइसकेको छ ।

    शेयर निष्कासन गरेको ७ महीनापछि वितरण गर्न लागिएको कम्पनीको शेयर डिम्याट खातामा भने नआउने भएको छ । कम्पनीले सबै प्रमाणपत्र भौतिक रूपमा नै वितरण गर्न लागिएको बताएको छ । त्यस्तै, कम्पनीले ग्लोबल आईएमई क्यापिटलसँग आरटीएसको सम्झौता गरिसकेको छ । सोअनुसार कम्पनीको शेयर डिम्याट गराउने, सूचीकरण गर्नेलगायतको काम क्यापिटलले नै गर्नेछ । कम्पनीले गत मङ्सिर महीनामा करीब रू. २ अर्बबराबरको साधारण शेयर निष्कासन गरेको थियो ।

    हाल रू. ८ अर्ब चुक्तापूँजी रहेको उक्त कम्पनीको शेयर निष्कासनपछिको रू. १० अर्ब पुग्नेछ । २०६८ सालमा स्थापना भएको कम्पनीको अधिकृत पूँजी रू. ५० अर्ब छ भने जारी पूँजी रू. १० अर्ब छ । कम्पनीमा सरकार, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषसहितको लगानी रहेको छ । कम्पनीले २० देखि ८२ मेगावाटसम्मका गरी २ सय ७१ मेगावाटबराबरका विभिन्न आठओटा जलविद्युत् आयोजनामा लगानी गरेको छ । उक्त आयोजनाहरूमा रू. ४३ अर्बबराबरको लगानी हुने कम्पनीले बताएको छ ।

    @अभियान