स्थानीयको लगानीमा चार मेगावाटको विद्युत् निर्माण गरिने

1638

म्याग्दी, १९ पुस – स्थानीयकै सक्रियता र लगानीमा म्याग्दीमा पहिलोपटक चार मेगावाट क्षमताको जलविद्युत् परियोजना निर्माण हुने भएको छ । उत्तरी म्याग्दीको नारच्याङ गाविसस्थित घल्याम्दी खोलाबाट चार मेगावाट क्षमताको जलविद्युत् निर्माण गर्न लागिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं स्थानीय व्यवसायी प्रमोद श्रेष्ठ, म्याग्दीकै नवीन शाही, किशोर सुवेदी र नारायणबाबु अधिकारीलगायतका व्यवसायीहरूको सक्रियतामा रेलिनार इनर्जी प्रालि दर्ता गरी व्यवसायीहरूले काठमाडौंस्थित सिम्याट पावर डेभलपमेन्ट प्रालिको साझेदारीमा काम सुरु गरेको रेलिनार इनर्जी प्रालिका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले जानकारी दिए ।
“डीपीआर, ईआईएका काम पूरा भइसकेका छन्,” श्रेष्ठले भने, “पीपीएका लागि विद्युत् प्राधिकरणमा निवेदन दिइसकेका छौं ।” उनले जिल्लावासीको लगानीमा निर्माण हुन लागेको आयोजनाको काम तीव्र गतिमा सञ्चालन गरिने बताए । पीपीए र जग्गा खरिदको सम्झौता सकिएलगत्तै कन्स्ट्रक्सनका सबै काम सुरु गरिने कम्पनीले जनाएको छ । आयोजनामा लगानी गर्न विदेशमा रहेका म्याग्देलीहरूको संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) का प्रतिनिधिलाई समेत आग्रह गरिएको छ ।
आयोजनाको अनुमानित लागत ५६ करोड छ । त्यसमध्ये १६ करोड ८० लाख इक्विटी र ३९ करोड २० लाख ऋण लगानी रहने कम्पनीले जनाएको छ । “तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौं,” रेलिनार इनर्जीका अध्यक्ष किशोर सुवेदीले भने, “आयोजनास्थल आसपासमा मोटरबाटो पुगेकाले ५ सय मिटर सडक र साढे एक किलोमिटर लामो सुरुङमात्रै खने पुग्छ ।”
अस्ट्रेलियाको एक युनिभर्सिटीबाट हाइड्रो क्षेत्रमा स्नातकोत्तर गरेका सुवेदीको सक्रियतामा सिम्याट कम्पनीको नाममा भएको लाइसेन्स खरिद गरिएको हो । लाइसेन्स खरिदसँगै सिम्याट कम्पनीलाई ६ प्रतिशत सेयर दिने सम्झौता गरिएको छ ।
बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीबजारस्थित उद्योग वाणिज्य संघको भवनमा कार्यालय स्थापना गरेर औपचारिक रूपमै काम सुरु गरेको कम्पनीले म्याग्दीका सर्वसाधारणलाई खुला रूपमै सेयर आह्वान गरिने जनाएको छ । “स्थानीयको लगानीलाई प्राथमिकता दिइरहेका छौं,” लगानीकर्ता नवीन शाहीले भने ।
आयोजना निर्माण सम्पन्नपछि नेपाल विद्युत् प्राधिकरणलाई वार्षिक साढे १३ करोडमा विद्युत् बिक्री गरिने र डेढ करोड खर्च भए पनि ऋण चुक्ता गर्न पाँच वर्ष पनि नलाग्ने कम्पनीले जनाएको छ । आयोजनास्थल म्याग्दी सदरमुकाम बेनीबजारदेखि २४ किलोमिटर उत्तर, बेनी–जोमसोम सडकखण्डको पर्यटकिय क्षेत्रमा भुरुङतातोपानीनजिकै पर्छ । म्याग्दीमा मात्रै ३२ मेगावाटको राहुघाट, १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज, ४२ मेगावाटको मिरिस्तीखोला लगायतका जलविद्युत् परियोजना निर्माणको चरणमा छन् । गैरआवासीय नेपाली संघ (एनआरएन)ले समेत लगानीको वातावरण भए म्याग्दीका खोलामा जलविद्युत् आयोजना विस्तार गर्ने घोषणा गरेको छ ।

—————————————————————————————–

From Promoters

Ghalemdi Hydro Power Project is located at Narchyang VDC in Myagdi District, Nepal. Project aim is to produce 4MW Electricity Power to be distributed via National Grid from Dana Sub Station at Dana in Myagdi District.
People of Nepal and Abroad investors are welcomed to invest in the project with good ROI.