फुकोट कर्णाली जलविद्युत् आयोजनाको सर्भेक्षण

    1219

    कालिकोटः नागरिक लगानी कोष, जलविद्युत् उत्पादन तथा लगानी कम्पनी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक र निजामती कर्मचारी, नेपाली नागरिक र स्थानीयवासीको लागनीमा निर्माण गर्न लागिएको फुकोट कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सर्भे सुरु भएको छ ।

    नेपाल विद्युत् उत्पादन कम्पनी लिमिटेडले फुकोट कर्णाली जलविद्युत् आयोजनास्थलको  कामलाई छिटोछरितो सञ्चालन गर्नका लागि प्राविधिक टोलीले आयोजनास्थलको निरीक्षण र सर्भे गरेको हो । ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्राविधिक टोलीले आयोजना निर्माणस्थलको अनुगमन निरीक्षण गरेको हो ।

    नेपाल विद्युत् उत्पादन कम्पनी लिमिटेडका इन्जिनियरहरूको एक टोलीले आयोजनाको ड्याम निर्माणस्थल र पावर हाउस निर्माणस्थलको अनुगमन, निरीक्षण र सर्भे गरेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । “आयोजना निर्माणको जिम्मा पाएको कम्पनीले आयोजनास्थलको निरीक्षण तथा ड्याम साइट पावर हाउस निर्माणस्थलको अवलोकन गरेको छ ।”

    कालिकोटका फुकोटमा ड्याम निर्माण गरेर आगामी ६ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको यो आयोजनाको सरकारले ल्याएको ‘पानी जनताको लगानी कार्यक्रम’ अन्तर्गत निर्माण सुरु हुने रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए । “जनताको लगानी कार्यक्रमअन्र्तगत यो आयोजना निर्माण हुन लागेको हो ।” उनले भने, “स्थानीय र नेपाल सरकारको लगानीमा यो आयोजना अगाडि बढ्ने छ ।”

    फुकोट आयोजनाको कामलाई ऊर्जा मन्त्रालयले प्राथमिकतामा राखेको र आयोजना चाडै निर्माण हुने ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बताए । “आयोजनाको काम चाँडै गर्ने तयारी गरेका छौं ।” उनले भने, “आयोजनाको सर्भेलगायतका काम भइरहेको छ ।” आयोजनाको सर्भेपश्चात त्यहाँको वातावरणीय मूल्यांकनलगायतको अध्यायन अवलोकलन भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

    फुकोट कर्णाली आयोजनाको अध्ययन भइरहेको र यसको लागतलगायतका अन्यका कामका लागि पहिलो चरणको अध्ययन सुरु भएको पहिलो चरणको आयोजना सर्भेका फुकोट कर्णाली आयोजनास्थल पुगेको नलगाड जलविद्युत् आयोजनाका वरिष्ठ इन्जिनियर रामकाजी थापाले बताए । “पहिलो चरणमा अध्ययन सर्भेको काम सुरु भएको छ ।” उनले भने, “थप काम दसंै–तिहारपछि मात्र सुरु हुन्छ ।”

    उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्नका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्कासमेत खोलिसकेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । “नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारणलाइनका लागि ठेक्काको आह्वानसमेत गरिसकेको छ ।” उनले भने, “यी सबै काम फुकोट आयोजनाका लागि भएका हुन् ।”

    स्रोत:कारोबार