कुलमानको निर्देशन ः चुनावमा ट्रेड युनियलाई गाडी दिए कारबाही

1044
काठमाडौं, ५ वैशाख÷ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आधिकारिक ट्रेड युनियको चुनावमा ट्रेड युनियलाई कार्यालय÷आयोजनाको गाडी प्रयोगमा रोक लगाएका छन् ।
कार्यकारी निर्देशक घिसिङले बिहीबार परिपत्र जारी गर्दै निर्वाचन प्रायोजनका लागि सामान्य सेवा विभागबाट उपलब्ध गराएको सवारी साधनबाहेक कुनै पनि ट्रेड युनियनलाई अरु गाडी उपलब्ध नगराउन निर्देशन दिएका हुन् । कसैले गाडी उपलब्ध गराएमा विभागीय कारबाही गर्ने चेतावनी पनि घिसिङले दिएका छन् ।
प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको चुनाव १९ वैशाखमा हुँदैछ । चुनावमा नेकपा निकट राष्ट्रिय कर्मचारी युनियन र नेपाली काँग्रेस निकट कर्मचारी संघबिच मुख्य प्रतिश्पर्धा हुने छ ।
‘चुनावी प्रायोजनका लागि समान्वय सेवा विभागबाट उपलब्ध गराइएको सवारी साधनबाहेक त्यस निर्देशनालय र अन्तर्गतका कुनै पनि कार्यालय÷आयोजनाहरुबाट कुनै पनि सवारी साधन कुनै पनि ट्रेड युनियनलाई उपलब्ध नगराउने, निर्देशा विपरित काम कारबाही भए गरेको पाइएमा सम्बन्धितलाई विभागीय कारबाही गरिने छ’,निर्देशनमा उल्लेख छ ।
घिसिङले संस्थाको हित विपरित सार्वजनिकरुपमा  अभिव्यक्ति दिएपछि कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईलाई स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको निर्णय फिर्ता नभएसम्म चुनावमा सहभागी नहुने अडान संघले राखेको थियो । तर, कार्यकारी निर्देशक घिसिङले निर्णयबाट कुनै पनि अवस्थामा पछि नहट्ने अडान राखेपछि संघ बाध्य भएर चुनावमा सहभागी भएको थियो । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले विहीबार उमेदवारी दर्ता गराएका छन् ।
प्राधिकरणले चुनावलाई स्वतन्त्र, निश्पक्ष र मर्यादित रुपमा सम्पन्न हुने वातावरण बनाई सोही बमोजिम परस्पर सहयोग र समन्वय गरी निर्वाचनमा सहभागी हुन निर्देशन दिएको छ । चुनावमा ज्यालादारी, करार, अस्थायी र स्थायी गरी नौ तहसम्मका कर्मचारीले भोट हाल्न पाउने छन् ।