चैतदेखि पाइपबाटै इन्धन

    1201

    नेपालमा आगामी चैतदेखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात हुने भएको छ । चर्चामा रहेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत पाइपलाइन विच्छ्याउने काम आधाभन्दा धेरै सकिएकाले आगामी मार्चभित्रै पाइपलाइनबाट इन्धन आयात गर्न सकिने भएको हो ।

    पछिल्लो समय पाइपलाइन विस्तार गर्ने काम तिव्रगतिमा अगाडि बढेकाले पनि सन् २०१९ को मार्चभित्रैमा पाइपमार्फत तेल आयात गरिने नेपाल आयल निगमले जनाएको छ । मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाका संयोजक भानु खनालले आगामी मार्चमा पाइपलाइनबाट तेल ल्याउने लक्ष्य राखिएको जानकारी दिए । “काम सुरु गरेको ६ महिनामा पाइपलाइन विच्छ्याउने काम आधाभन्दा बढी सकिएको छ,” संयोजक खनालले भने, “पाइपलाइन विच्छ्याउने काम तिव्रगतिमा अगाडि बढेकाले पनि चाँडै सकिने देखिएको छ ।”

    नेपालतर्फ १९ किलोमिटर क्षेत्रमा पाइप विच्छ्याउने काम सकिएको उनले बताए । “वन मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआए) प्रतिवेदन स्वीकृत भइसकेकाले पनि अब पाइप बिच्छ्याउने काम तिव्ररूपमा अगाडि बढ्छ,” उनले भने । रक्सोलदेखि अमलेखगन्जसम्म पाइपलाइन बिच्छ्याउनका लागि रुटमा पर्ने बाधा अवरोध हटाउने काम अन्तिम चरणमा पुगेकाले पाइपलाइन विस्तारको काम जतिसक्दो छिटो अगाडि बढ्ने उनको भनाइ छ ।

    निगमका अनुसार रक्सोलदेखि अमलेखगन्जसम्म ३७ दशमलव २५ किलोमिटर दूरीमा पाइप विच्छ्याइने छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले मोतीहारीदेखि रक्सोलसम्म पाइपलाइन विच्छ्याउने काम अन्तिम चरणमा पु¥याएको छ । रक्सोलदेखि अमलेखगन्जसम्म आईओसीको प्राविधिक सहयोगमा पाइपलाइन विस्तार गर्ने काम भइरहेको छ । नेपाल र भारत सरकारको संयुक्त लगानीमा बन्दै गरको पेट्रोलियम पाइपलाइन परियोजना सम्पन्न भएपछि इन्धनको आपूर्ति सहज हुनुका साथै ढुवानीवापतको रकमसमेत बचत हुने छ । पाइपलाइनबाट इन्धन ढुवानी गर्दा लागतसमेत कम हुने निगमको भनाइ छ ।

    पाइपलाइनबाट ल्याएको तेल भन्डारण गर्न आइओसीको सहयोगमा अमलेखगन्जमा चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा ट्यांकी निर्माण भइरहेका छन् । अमलेखगन्जमा हाल इन्धनको भन्डारण क्षमता ४० हजार किलोलिटर रहेको छ । पाइपलाइनमार्फत आएको तेल अमलेखगन्जमा भन्डारण गरेर अन्य ठाउँमा आपूर्ति गरिने छ । आइओसीको २ अर्ब भारु र नेपाल आयल निगमको ७५ करोड रूपैयाँको लागतमा सो परियोजना सम्पन्न हुन लागिएको हो ।

    दोस्रो चरणमा अमलेखगन्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने तयारी भइरहेको निगमले जनाएको छ । यसैबीच मोतिहारीदेखि चितवनसम्म खाना पकाउने एलपी ग्यासका लागि समेत पाइपलाइन विस्तार गर्ने योजना निगमको छ । आइओसीले भारतमा १४ हजार किलोमिटर दूरीमा पाइपलाईनमार्फत इन्धनको आपूर्ति गरिहेको छ । परियोजना सम्पन्न भए नेपालमा आयात हुने कुल पेट्रोलियम पदार्थको ८५ प्रतिशत पाइपबाट र १५ प्रतिशत मात्र ट्यांकरबाट आयात हुनेछ ।

    गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेपछि यसको निर्माण कार्यले तीव्रता पाएको हो । पाइप विच्छ्याउनका लागि बाटोमा पर्ने अवरोध व्यवस्थापन गर्ने काम भइरहेको निगमको भनाइ छ ।

    पथलैयादेखि अमलेखगन्जसम्म ९ किलोमिटर क्षेत्रमा पर्ने पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाँच हजार आठ सय ८८ रुख काट्नुपर्ने हुन्छ । वन मन्त्रालयले वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनलाई स्वीकृति गरिसकेकाले अब रुख काट्नका लागि अन्य प्रक्रिया अगाडि बढाइने निगमले जानकारी दिएको छ । तत्कालिन बाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानबीच पेट्रोलियम पाइपलाइन परियोजना विस्तार गर्न सन् २०१५ को अगस्टमा सम्झौता भएको थियो ।

    लक्ष्मी सापकोटा
    स्रोत्:कारोबार