माउन्टेन हाइड्रोको आईपीओ असार २२ देखि, ६००० कित्तासम्म आवेदन दिन पाइने

    1269

    काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । माउन्टेनले असार २२ गतेदेखि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा साउन ४ र ढिलोमा भदौ २० गतेसम्म हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

    न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्म आईपीओ भर्न पाइने छ । आयोजना प्रभावितलाई छुट्टाइएको मध्ये ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि छुट्टाइएको छ । यस्तै ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ पाँचथरका अन्य क्षेत्रका स्थानीयबासिन्दालाई निष्कासन गरिएको सिद्धार्थले जनाएको छ ।

    कम्पनीले २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन ३ अर्ब ९५ करोड रुपैयाँ लाग्ने देखिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ३० लाख रुपैयाँ छ । आयोजनाको ८९ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र १० प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

    आयोजनामा साधारण लगानी ८.१६ वर्षमा फिर्ता हुने छ । आयोजनाको डिस्काउन्टमा लगानी फिर्ता हुने समय ११ वर्ष रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९३.९१ छ ।

    आईपीओबाट संकलन हुने रकम कम्पनीले सिभिल तर्फ सुरुङको फिनिसिङ, हाइड्रोमेकानिकल र इलेक्ट्रोनिकमेकानिकल उपकरण जडान र प्रसारणलाइन निर्माणमा खर्च गर्ने कम्पनीले जनाएको छ ।

    स्रोत:बिकास न्युज