भारतीय कम्पनी आयोजना छोड्दै, चिनियाँ ओगट्दै

    1205

    नेपालको जलविद्युतमा चिनियाँ लगानीकर्ता आकर्षित

    १२ असार, काठमाडौं । पछिल्ला केही वर्षयता नेपालका जलविद्युत आयोजनामा चिनीयाँहरुको चासो बढेर गएको छ । भारतीय कम्पनीले छोड्ने र चिनियाँ कम्पनीहरुले आयोजना ओगट्ने क्रम बढ्दो देखिन्छ ।

    गत वैशाखमा भारतीय कम्पनी जिएमआरले ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी आयोजना चिनियाँ कम्पनीलाई बेच्यो । हिमतालले ओगटेको यो आयोजनामा जिएमआरको ८० प्रतिशत सेयर थियो, जसलाई चिनियाँ कम्पनी सिञ्चेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेशनलले खरिद गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पनि नेपालका विभिन्न कम्पनीसँग मिलेर आयोजना निर्माण गर्न चिनियाँ कम्पनीले सम्झौता गरेका छन् ।

    प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बुटवल पावर कम्पनीले १ हजार मेगावाट बराबरको आयोजना चिनियाँ कम्पनीसँग मिलेर अघि बढाउने सम्झौता गरेको छ । बुटवल पावर कम्पनी र सिचुवान इन्भेष्टमेन्ट ग्रुप, चेङ्दु सिचेङ इन्भेष्टमेन्ट ग्रुप र सिचुवान क्वीङयुन इन्जिनियरिङबीच यस्तो सम्झौता भएको थियो ।

    जलविद्युत क्षेत्रमा चीनको ३६ अर्ब लगानी स्वीकृत

    त्यसैगरी ४० मेगावाटको सुपर न्यादीको काम अघि बढाउने सम्वन्धमा सिउरी न्यादी र चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङबीच पनि आयोजना अघि बढाउने सम्झौता भएको छ । ७५ मेगावाटको त्रिशुली गल्छी पनि सतिश न्यौपाने र डोङफेङ इन्टरनेशनलबीच पनि सहकार्य गर्दै इपीसीएफ मोडलमा निर्माण गर्ने सम्झौता भएको छ । यसरी हेर्दा चिनियाँ कम्पनीहरु नेपाली कम्पनीसँग मिलेरसमेत आयोजना निर्माण गर्न आतुर रहेको देखिन्छ ।

    उद्योग विभागको वैदेशिक लगानी महाशाखाका प्रमुख खगेन्द्रबहादुर बस्नेतका अनुसार पछिल्लो समय चिनियाँ लगानीकर्ताको जलविद्युत क्षेत्रमा लगानी स्वीकृत गर्ने क्रम ह्वात्तै बढेर गएको छ ।

    चालु आर्थिक वर्षको ११ महिनामा भारतको तुलनामा ठूलो मात्रामा चिनियाँ लगानी बढेको देखिएको छ । गत साउनदेखि जेठ मसान्तसम्म भारतबाट ऊर्जा क्षेत्रमा १० लाख मात्रै लगानी स्वीकृत भएको छ । तर, चीनबाट भने जलविद्युत क्षेत्रमा ३६ अर्ब ५ करोड लगानी स्वीकृत भएको बस्नेत बताउँछन् ।

    यो वर्ष चीनले तीनवटा आयोजनाका लागि मात्रै यती ठूलो रकम लगानी गर्ने स्वीकृति लिएको हो ।

    बस्नेत भन्छन्, ‘पछिल्लो समय चिनियाँहरु जलविद्युत, खानी जस्ता स्रोतमा आधारित उद्योगमा बढी केन्द्रित भएको पाइन्छ ।’

    लगानी भारतकै धेरै

    भारतले भने यो वर्ष एउटा आयोजनाका लागि मात्रै लगानी स्वीकृति गरेको छ । अहिलेसम्मकै आँकडा हेर्ने हो भने अझै पनि भारतीय लगानी नै ठूलो देखिन्छ ।

    विभागका अनुसार भारतीय कम्पनीले अहिलेसम्म २० वटा आयोजनाको लागि ४५ अर्ब ८ करोड १३ लाख रुपैयाँ लगानी स्वीकृत गरेका छन् । चिनियाँ लगानीकर्ताले भने अहिलेसम्म १८ वटा ऊर्जा क्षेत्रका आयोजनामा लगानी गर्न ४१ अर्ब ५ करोड लगानी स्वीकृत गरेका छन् ।

    अरुण तेस्रो जलविद्युत आयोजना अहिले भारतीय कम्पनी जिएमआरले अगाडि बढाएको छ । ठूलो आयोजना भारतीय कम्पनीले अघि बढाउन लागेका कारण पनि अहिलेसम्मको आँकडामा भारतीय लगानी ठूलो देखिएको हो ।

    पछिल्लो समय चिनियाँ कम्पनीहरुले नेपालका जलविद्युत आयोजनामा खुबै चासो बढाएका छन् । बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवाले निर्माण गर्ने इच्छा देखाएको थियो । जसका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बिना प्रतिस्पर्धा आयोजना जिम्मा लगाएको थियो । तर शेरबहादुर देउवा नेतृत्वको सरकारले भने गेजुवासँगको उक्त सम्झौता खारेज गरेको थियो ।

    पश्चिम सेती जलविद्युत आयोजना थ्री गर्जेजले निर्माण गर्न नसक्ने प्रष्टै देखिन्छ । तर, चीन भने यो आयोजना छोडिहाल्ने मनस्थितिमा छैन । थ्री गर्जेजले निर्माण गर्न नसक्ने देखेर नै सरकारले यो आयोजना आन्तरिक स्रोतबाटै निर्माण गर्ने भनेर बजेटमा घोषणा गरेको थियो । तर चीनले यो आयोजनामा आफ्नो चासो रहिरहेको बताएपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा यो आयोजना चिनियाँ कम्पनीबाट नै अघि बढाउने आश्वासन दिएर फर्केका छन् ।

    स्रोत:अन्लाईन खबर