खिम्ती–ढल्केबर प्रसारण लाइन छिटो बनाउन विश्व बैङ्कको आग्रह

    2950

    कात्तिक ३, काठमाडौं (अस) ।
    energy-transmission

    विश्व बैङ्कले खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण कार्य छिटो पूरा गर्न आग्रह गरेको छ । अर्थमन्त्री शङ्करप्रसाद कोइराला र विश्व बैङ्कका नेपाल निर्देशक जोन जुटबीच आइतवार अर्थ मन्त्रालयमा भएको भेटमा जुटले सो आग्रह गरेका हुन् । भेटमा निर्देशक जुटले विद्युत् प्रसारण लाइन विस्तारमा आउने गरेको व्यवधानप्रति गुनासो गर्दै खिम्ती–ढल्केबर प्रसारण लाइन १० वर्षमा पनि पूरा हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । सोको प्रत्युत्तरमा अर्थमन्त्री कोइरालाले सो सम्बन्धमा सरोकारवाला निकायहरूसँग छिटो छलफल चलाउने आश्वासन दिए ।

    भेटमा कोइरालाले ठूला परियोजनाहरूमा लगानी बढाउन विश्व बैङ्कसँग आग्रह गरेका थिए । उनले ऊर्जा देश विकासको पूर्वाधार भएकाले सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेको बताए । जुटले प्रसारण लाइनमा अवरोध हुँदा विद्युत् उत्पादन प्रभावित हुने भन्दै सो प्रसारण लाइनको आयोजना अवधि यो वर्षको अन्त्यसम्म मात्र रहेको जनाउ दिँदै त्यो समयसम्म काम सक्न आग्रह गरे । उनले नेपाल रणनीतिबारे छलफल गर्न विश्व बैङ्कको विज्ञ टोली छिट्टै नेपाल आउन लागेको जानकारी दिँदै बैङ्कले ऊर्जाको विकासलाई प्राथमिकता दिने बताए ।
    @ अभियान राष्ट्रिय दैनिक