५६ प्रतिशत जलविद्युत कम्पनीको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम

2068

मंसिर ४, २०७६

काठमाडौं । पछिल्लो समय अधिकांश हाइड्रोपावरहरुको सेयर मूल्य अंकित मूल्यभन्दा कम रहेको छ । लामो समयसम्म राम्रो प्रतिफल दिन नसक्ने भएकाले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचिकृत ५६ प्रतिशतभन्दा बढी जलविद्युत कम्पनीको सेयर मूल्य अंकित मूल्य भन्दा पनि तल झरेको हो ।

हाल नेप्सेमा कूल ३२ वटा जलविद्युत कम्पनी सूचिकृत रहेका छन् । जसमध्ये १८ वटा कम्पनीको सेयर मूल्य अंकित मूल्य १०० रुपैयाँभन्दा तल रहेको छ भने बाँकी १४ वटा कम्पनीको सेयर मूल्य १०० वा त्यसभन्दा माथी छ ।

१०० रुपैयाँभन्दा तल सेयर मूल्य रहेका जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा न्युनतम मूल्य नेशनल हाइड्रोपावर कम्पनीको रहेको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँ रहेको छ । त्यस्तै, करिब एक वर्ष अघि प्रतिकित्ता ३०० रुपैयाँ रहेको घलेम्दी हाइड्रोको सेयर मूल्य ६३ रुपैयाँमा झरेको छ ।

अंकित मूल्य वा सो भन्दा बढी सेयर मूल्य रहेका १४ कम्पनीमध्ये चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७२ रुपैयाँ रहेको छ । गत एक वर्षको तुलनामा कम्पनीको सेयर मूल्य हाल ५४.९५ प्रतिशतले ओरालो लागेको हो । एक वर्षअधि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ रहेको थियो । जुन हाइड्रो कम्पनीमध्ये सबैभन्दा बढी हो ।

सूचिकृत कम्पनीको सेयर मूल्य ओरालो लाग्दा अपर तामाकोशीको सेयर मूल्य उकालो लागेको छ । एक वर्ष अघिको बजार मूल्यको तुलनामा हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेर प्रतिकित्ता २३१ रुपैयाँ पुगेको छ । करिब एक वर्षअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२४ रुपैयाँ रहेको थियो ।

निर्माण भएका धेरै आयोजनाहरुमा विद्युत् उत्पादन समस्याका कारण रुग्ण बन्दै गएका छन् । जसले गर्दा उनीहरुले राम्रो प्रतिफल दिन नसकेका हुन् । त्यसैले बजारमा ती कम्पनीको सेयर मूल्य ओरालो लाग्दै आएका छन् ।

 

 

स्रोत:बिकासन्युज