मध्यमर्स्याङ्दीबाट आधा मात्र बिजुली

1547

७२ मेगावाट क्षमताको आयोजनाबाट दैनिक औसत ३६ मेगावाट बिजुली उत्पादन भइरहेको छ 

पुस २३, २०७६

(लमजुङ) — ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट आधा परिमाणमा मात्रै बिजुली उत्पादन हुन थालेको छ । मर्स्याङ्दीमा पानीको बहाव कम भएपछि जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकेको छैन ।

राति र दिउँसो विद्युत् उत्पादन रोकेर जलाशयमा पानी जम्मा गरी साँझबिहान मुस्किलले तीन घण्टा मात्रै पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको मध्यमर्स्याङदी जलविद्युत् केन्द्रले जनाएको छ । मध्यमर्स्याङ्दीबाट दैनिक औसत ३६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । पानी जम्मा नगरी नदीमा बगेको पानीले २० देखि २२ मेगावाट मात्रै बिजुली उत्पादन हुन्छ ।

जलविद्युत् केन्द्रमा राति कहिलेकाहीँ ५ देखि ६ घण्टासम्म विद्युत् उत्पादन बन्द गरेर जलाशयमा पानी जम्मा गर्ने गरिएको छ । उक्त पानीले बिहान दुई घण्टा ७० मेगावाट विद्युत् उत्पादन हुन्छ । कहिलेकाहीँ दिउँसो करिब चार घण्टा बिजुली उत्पादन बन्द गरेर जलाशयमा पानी भरिन्छ । त्यसले साँझ डेढ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ । ‘आयोजनाको पिकिङ क्षमता चार घण्टा हो । सकेसम्म साँझबिहान ऊर्जा धेरै

खपत हुने समयमा बढीभन्दा बढी उत्पादन दिने हाम्रो प्रयास हो,’ केन्द्र प्रमुख शिवकुमार शाहले भने । भारप्रेषण केन्द्रको मागअनुरूप विद्युत् उत्पादन बढाउने र घटाउने गरिएको उनले बताए ।

‘केही दिनअघि दुई पटक हिमपात भएको समय पानी बढेको थियो । अहिले घटेको छ,’ उनले भने । अर्थ जलाशययुक्त (पिकिङ रन अफ रिभर) मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा करिब ६ महिना मात्रै पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने गरेको छ ।
एउटा टर्बाइन फेरिने

मध्यमर्स्याङ्दीमा जडित ३५/३५ मेगावाट क्षमताका दुई टर्बाइनमध्ये युनिट नम्बर २ को टर्बाइन फेर्ने काम शनिबारदेखि सुरु हुने भएको छ । यसले उक्त टर्बाइनबाट विद्युत् उत्पादन बन्द गरी युनिट १ बाट मात्रै विद्युत् उत्पादन हुन्छ । टर्बाइन फेर्न र आवश्यक मर्मत सम्भारका लागि नेपाल विद्युत् प्राधिकरणले १८ दिनको समय दिएको छ । यसबीचमा युनिट २ को पूरै रनर फेरिने शाहले जानकारी दिए ।

टर्बाइनमा जडित रनर, गाइभेन्सलगायत सामान फेरिनेछ । स्विच एड, जेनेरेटरलगायत बिग्रन लागेका मेसिनरी सामानका पाटपुर्जा पनि फेरेर मर्मत गरिने उनले बताए । केही मेसिनरी सामग्रीको सर्भिसिङसमेत गरिनेछ । दुई–दुई वर्षमा रनर परिवर्तन हुन्छ । ‘एउटा रनर दुई वर्षमा फेरिने हो । अहिले राख्न लागिएको रनर बनाएर ठिक्क पारिएको छ,’ उनले भने, ‘यस वर्ष झिकिएको रनरलाई फेरेर अर्को वर्ष युनिट १ मा राख्छौं ।’

यसअघि मध्यमर्स्याङ्दी मर्मत सोमबारदेखि हुने भनिएको थियो । यसबीचमा भारतबाट ढल्केबरसम्मको प्रसारण लाइनमा समस्या आउँदा विद्युत् आपूर्ति बन्द भएपछि आयोजनाको मर्मत सारिएको आयोजना स्रोतले बतायो । आयोजना प्रमुख शाहले भने पानी तत्काल धेरै नघटेको र चिसो मौसम भएकाले बढी विद्युत् खपत भएको हुँदा मर्मत समय सारिएको जनाए । प्राधिकरणले हरेक वर्ष हिउँदमा मध्यमर्स्याङ्दीमा जडित युनिटको मर्मत गर्दै आएको छ ।
आश गुरुङ
स्रोत्:कान्तिपुर