एक युनिट विद्युत्बाट अर्थतन्त्रमा ८० रूपैयाँको योगदान

    1284

    एक जना नर्वेलीको वार्षिक विद्युत् खपत २३ हजार युनिटभन्दा बढी छ भने नेपालीको १ सय ५० युनिटभन्दा कम छ । नर्वे विश्वको धनी देशभित्र पर्छ भने नेपाल गरिब ।

    नयाँ ऊर्जामन्त्री हुनेवित्तिकै वर्षमान पुनले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सबैभन्दा ठूलो योगदान दिने क्षेत्र ऊर्जालाई बनाउने घोषणा गरेका छन् । ऊर्जाको उत्पादन र खपत बढाएमा विद्युत्ले वहुप्रभाव (मल्टिप्लायर इम्प्याक्ट) पार्नसक्ने भने देखाएको छ । नेपालमा विद्युत्ले कुल गार्हस्थ्य उत्पादन पार्ने प्रभावबारे अध्ययन नभएपनि विद्युत्को उपलब्धता र खपतले वहुप्रभाव पर्ने भने देखिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्वअध्यक्ष खड्गबहादुर विष्ट बताउँछन् , “एक युनिट विद्युत् खपतले मात्र ७० रुपैयाँदेखि ८० रूपैयाँसम्म योगदान दिन सक्छ,” ऊर्जा र अर्थतन्त्रबारे अध्ययनसमेत गरेका उनी भन्छन्, “ऊर्जाको अर्थतन्त्रमा मल्प्लिायर इक्प्याक्ट हुन्छ, जति ऊर्जा उपलब्धता बढ्यो र खपत बढ्यो, उति फाइदा हुन्छ ।” उनका अनुसार, उद्योग, व्यवसाय, पर्यटन, कृषिदेखि हरेक क्षेत्रमा विद्युत्को बहुप्रभाव हुन्छ ।

    विश्वमा सबै विकासको मुख्य स्रोत वा मुख्य चालकको रूपमा ऊर्जालाई लिइन्छ । तर, नेपालमा ऊर्जा खपतको अवस्था अझै कमजोर छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांक हेर्ने हो भने हाल ११ सय मेगावाटभन्दा दैनिक विद्युत् खपत छ, तुलनात्मक रूपमा यो दक्षिण एसियाकै कमजोर हो । दुई वर्ष अघिसम्म लोडसेडिङको समस्या भएपनि त्यो अहिले छैन । तर, विद्युत्को खपत कमजोर अवस्थामै छ । एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी थाइल्याण्डका प्रोफेसर इमिराट्स डा. राममनोहर श्रेष्ठ विद्युत् अभाव अर्थतन्त्रका लागि ठूलो समस्या भएको बताउँदै ऊर्जाको उपलब्धताले जीडीपीमा ठूलो योगदान पुराउने बताउँछन् । “विद्युत्को खपत जति बढ्यो, यसले अर्थतन्त्रमा पनि ठूलो योगदान दिन्छ,” उनी भन्छन्, “विद्युत् उपलब्धताले समग्र जीडीपीको आकार मात्र बढाउँदैन, आर्थिक वृद्धिदरलाई पनि उच्च बनाउँछ ।” विश्व बैंकको अनुसार लोडसेडिङ रहेको सन् २००८ देखि २०१५ सम्ममा विद्युत् अभावकै कारण जीडीपी ६.४ प्रतिशत घटेको थियो । यस अवधिमा झण्डै ११ खर्ब बराबरको जीडीपी विद्युत् अभावले नै घटेको विश्व बैकको तथ्यांक छ । यस्तै, यो अवधिमा विद्युत् अभावले सरकारी राजस्व २.५ प्रतिशत, लगानीको माग ३२.६ प्रतिशत र निर्यात २.८ प्रतिशत घट्नुमा ऊर्जाको योगदान थियो । दुई वर्षअघि लोडसेडिङ हटेपछि यसको अर्थतन्त्रमा कति सकारात्मक प्रभाव प¥यो भन्ने अध्ययन भएको छैन । तर, विज्ञहरू विद्युत् उपलब्धताले सबै क्षेत्रमा प्रभाव पार्ने हुनाले जीडीपी बढाउन यसको महत्वपूर्ण योगदान हुने बताउँछन् ।

     

    भिम गौतम

    स्रोत:कारोबार