काबेली करिडोरको तेस्रो खण्डमा ड्रोनले तार टाँग्दै

1261

असार ९, २०७६

काबेली करिडोरको तेस्रो खण्डमा मानवरहित विमान ड्रोनले तार टाँगिरहेको छ । पाँचथर, इलाम र ताप्लेजुङसहित पू्र्वी नेपालका खोलानालामा उत्पादन भएको बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न काबेली करिडोरमा चीनबाट ल्याइएको ड्रोनले तार टाँगेको हो ।

मानवरहित विमान आएर एक टावरदेखि अर्को टावरसम्म बिजुलीको तार टााग्छ भन्ने सुनेर गाउँलेहरु उत्साहसाथ पाँचथरको अमरपुरस्थित पिनासीघाटमा भेला भए । निक्कैबेर कुर्दा पनि विमान आएन । निकैपछि टिनको बाकस बोकेर आएका चारजना चीनिया नागरिकले बाकसबाट सानो औजार निकाले । त्यो औजारका पाखेटा फिजार्दै ब्याट्री जोडियो । त्यसपछि तार बाँधेर रिमोट कन्ट्रोलले त्यसलाई उडाइयो । एउटा टावरको फेददेखि छोडिएको त्यो ड्रोन ३ मिनेट नबित्दै फर्केर आयो । त्यसपछि पुनः तार लिएर अर्को टावरतर्फ उड्यो । ७ सय ६१ मिटरको दुरीमा रहेका दुइवटा टावरको माझमा तमोर खोला र खयरको जंगल छिदोल्दै ड्रोनले टावरका टुप्पासम्म लगेर त्यहाा तैनाथ ज्यामीका हातमा तार लगेर छोडिंदाको माहौल निक्कै रमाइलो थियो ।

यो प्रविधिवाट तार टााग्दा जोखिमपुर्ण स्थानमा काम गर्ने कामदारको सुरक्षासँगै समय र खर्चमा समेत किफायती हुने प्राविधिकहरुले बताएका छन् ।

झापास्थित दमकको केर्खाबाट इलामको गोदक, पाँचथरको फिदिम हुँदै पाँचथर र ताप्लेजुङको सिमावर्ती काबेलीसम्म जोड्ने काबेली करिडोरमा जम्मा ३ खण्ड छन् । जसमा पाँचथरको फिदिमसम्मको काम सम्पन्न भएर यस अगावै फिदिममा उत्पादित बिजुली केन्द्रीय प्रसारणमा जोडिइसकेको छ ।

 

स्रोत:कान्तिपुर