भूमिगत विद्युत प्रणालीको काम गर्ने ठेकेदार भेटिएन, पुनः टेण्डर आहन

    1478
    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंकोमा रहेको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने कामको ठेकेदार छनोटका लागि पुनः अन्तराष्ट्रिय टेण्डर आहन गरेको छ । प्राधिकरणले अनुमानित लागत भन्दा महंगो दर आएपछि करिव १० महिनाअघि सुरु गरिएको टेण्डर प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गरेको हो ।
    प्राधिकरणले शनिबार ४५ दिनको समयसीमा राखी टेण्डर आह्न गरेको हो । काम गर्न इच्छुक कम्पनीले २७ मंसिरसम्ममा आवेदन हाल्न सक्ने प्राधिकरणले जनाएको छ । ठेक्का प्रक्रियामा सिर्जना भएको जटिलताले गर्दा काममा ढिलाई हुँदा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वकांक्षी योजना पछि धकेलिएको छ ।
    प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले आयोजनामा सहुलितपूर्ण ऋण लगानी गर्ने दातृ निकाय एसियाली विकास बैक (एडीबी)को खरिद निर्देशिकाअनुसार पुनः टेण्डर आहन गरिएको जानकारी दिए । ‘सारभूत रुपमा प्रभावग्राही ठेकेदार कम्पनी छनोट हुन नसकेपछि पुनः टेण्डर आहन गरिएको हो’, उनले भने ।
    पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने वागबजार,असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा वालुवाटार, गंगबु, सामाखुसी लगायतका महाराजगंज वितरण केन्द्र अन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भुमिगत तथा स्वचालित बनाउन लागेको हो ।
    यस अघिको टेण्डरमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम गर्न भारतीय कम्पनीहरु क्रमशः लार्सन एन्ड टर्बो र  केईआई इन्डष्ट्रिज लिमिटेडले सबैभन्दा कम रकम प्रस्ताव गरेका थिए । दुवै कम्पनीले प्रस्ताव गरेको रकम प्राधिकरणले तय गरेको अनुमानित लागतभन्दा बढी थियो । त्यसैले एडिबीको खरिद निर्देशिकाअनुसार पुरानो प्रक्रियालाई रद्द गरी नयाँ प्रक्रिया सुरु गरिएको हो ।
    ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र अटोमेसन गरिने छ । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्र अन्तर्गतका करिव ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ । वितरण प्रणालीलाई भुमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना छ ।
    दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ । सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । यो प्रविधि अपनाउँदा केही मिटरको दुरीमा दुई खाल्डा खनेरबीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिन्छ ।