वैकल्पिक ऊर्जाबाट साढे ३२ मेगावाट उत्पादन

1902

 कार्तिक १९, २०७६

काठमाडौं – सरकार र निजी क्षेत्रबाट सञ्चालित लघुजलविद्युत् तथा जैविक आयोजनाबाट हालसम्म ३२.५ मेगावाट विद्युत् उत्पादन भएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार लघुजलविद्युत् आयोजना, सौर्यऊर्जा, वायुऊर्जा, जैविकऊर्जा गरेर ३२.५ मेगावाट जलविद्युत् उत्पादन भएको हो।

केन्द्रका अनुसार नेपाल सरकार र विभिन्न विकास साझेदारको संयुक्त सहयोगमा तथा निजी क्षेत्र र स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालित विभिन्न कार्यक्रमार्फत लघु जलविद्युत्बाट ३२.५ मेगावाट विद्युत् उत्पादन भएको जनाएको छ। केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले वैकल्पिक ऊर्जाको उत्पादन बर्सेनि बढ्दै गएको बताए। ‘विगतको तुलनामा अहिले वैकल्पिक ऊर्जाको उत्पादन बढ्दै गइरहेको छ,’ उनले भने, ‘वैकल्पिक ऊर्जा सहरमा भन्दा पनि ग्रामीण क्षेत्रमा बढ्दै गइरहेको छ।’

निर्देशक अधिकारीले केन्द्रले नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै ऊर्जा दक्षता र हरित जलवायु कोष अन्तर्गतका कार्यक्रममा अझै प्रभावकारी रुपमा काम गर्दै जाने प्रतिबद्धता जनए।

सहरी क्षेत्रबाट निस्कने जैविक फोहोर, पोल्ट्री फार्मबाट निस्कने सुली र गाई फार्मबाट निस्कने गोबर लगायत प्रयोग दुई सय ४७ ठूला सहित चार लाख २५ हजार बायोग्यास प्लान्ट जडान भएका छन्। केन्द्रका अनुसार नौ लाख ११ हजार घरपरिवारमा घरेलु सौर्य विद्युत् प्रणाली पुगेको छ। केन्द्रका अनुसार १५ लाख नौ हजार घरमा सुधारिएको चुलो जडान गरिएको छ। त्यसैगरी, ११ हजार पानीघट्टको सुधार भएको केन्द्रले जनाएको छ। निर्देशक अधिकारीले सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्यचौकी, अस्पताल, सर्पदंश उपचार केन्द्र, बर्थिङ सेन्टर जस्ता संस्थामा कम्प्युटर तथा स्वास्थ्यसम्बन्धी उपकरण सञ्चालन गर्न देशभर झण्डै दुई हजार संस्थागत सौर्यऊर्जा प्रणाली जडान भएको बताए । एक हजार तीन सयभन्दा वढी खानेपानी र सिँचाइको लागि प्रयोग हुने पानी तान्ने पम्प जडान भएका छन्।

यसबाहेक पाँच सय ६३ किलोवाट बराबर सौर्य तथा सौर्य र वायुऊर्जा मिश्रित मिनिग्रिड प्रणाली जडान भइ सञ्चालनमा छन्। केन्द्र अन्तर्गत हालसम्म जडित यस्ता नवीकरणीय ऊर्जा प्रविधिमार्फत देशका करिब ३६ लाख घरधुरी लाभान्वित भइसकेका छन्।

वैकल्पिक ऊर्जा क्षेत्रका तीन संस्था पुरस्कृत

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २३औं वार्षिकोत्सवको अवसरमा तीनवटा संस्थालाई पुरस्कृत गरेको छ। केन्द्रको वार्षिकोत्सवको अवसरमा सोमबार नवीकरणीय ऊर्जा प्रवद्र्धन गरी स्थानीय समुदायको जीवनस्तर उकास्न विशेष सहयोग पु-याउने विभिन्न लघुजलविद्युत् आयोजना, सौर्यऊर्जा, वायुऊर्जा, जैविकऊर्जाको क्षेत्रमा नवीनतम कार्य गर्ने तीनवटा उत्कृष्ट संस्थालाई पुरस्कृत गरेको हो।

केन्द्रले मञ्जुका स्मृति अक्षय कोषसँग समन्वय गरेर दर्ना लघुजलविद्युत् सहकारी संस्था लिमिटेड, सनफार्मर नेपाल प्रालि र नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिलाई नगद २५ हजार सहित सम्मान गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय वर्षमान पुनले पुरस्कृत संस्थालाई नगद तथा सम्मापत्र हस्तान्तरण गरेका थिए। दर्ना लघुजलविद्युत् सहकारी संस्था महिलाद्वारा सञ्चालित संस्था हो। यसले ८३ किलोवाट जलविद्युत् सञ्चालन गर्दै आएको छ।

सनफार्मर नेपालले नेपालमा नविनतम ढंगले सौर्यऊर्जाबाट खानेपानी र सिँचाइको लागि प्रयोग हुने सौर्य पम्प जडान गरेर सञ्चालनमा आइरहेको छ। त्यसैगरी, गरी नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले विराटनगरको श्रीकृष्ण गौसेवा सदनमा रहेको दुई सय घनमिटरको बायोग्यास प्लान्ट जडान गर्ने कम्पनी हो। केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा यस कम्पनीले जडान गरेको यो प्लान्टबाट उत्पादित ग्यासलाई पाइपबाट ३२ स्थानीय उपभोक्ताको घरमा बायोग्यास पु-याउँदै आइरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले संघीयता कार्यान्वयनपछि नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धनको काम स्थानीय तहबाट हुँदै  आइरहेको बताए। ‘नवीकरणीय ऊर्जामा स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘नवीकरणीय ऊर्जाको मापदण्ड बनाउने काम भइरहेको छ।’

मन्त्री पुनले केन्द्रले हालसम्म हासिल गरेका उपलब्धिलाई संथागत गरी परिवर्तित सन्र्दभमा प्रभावकारी रुपले अघि बढाउन केन्द्रलाई ऐनबाट स्थापित संस्थामा रुपान्तरण गरिने जानकारी दिए। राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले केन्द्रलाई नवीकरणीय ऊर्जाको श्रेष्ठता केन्द्रको रुपमा विकास गर्न आवश्यक भएको बताए। ‘अब व्यवस्थित ढंगले नवीकरणीय ऊर्जाको विकास गर्न जरुरी भइसक्यो,’ उनले भने, ‘अब विश्वविद्यालयहरुमा पनि नवीकरणीय ऊर्जाको खोज तथा अनुसन्धान गर्नुपर्ने देखिन्छ।’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले देशमा नवीकरणीय ऊर्जा प्रविधिको थप व्यवस्थित विकासको लागि तथा केन्द्रलाई ऊर्जा दक्षता र कार्बन वित्तको क्षेत्रमा कार्य गर्न भावी कार्यदिशा स्पष्ट गर्ने गरी केन्द्रको  व्यावसायिक योजना बनाउनुपर्ने बताए। केन्द्रका कार्यकारी निर्देशक अधिकारीले केन्द्रले नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै ऊर्जा दक्षता र हरित जलवायु कोष अन्तर्गतका कार्यक्रम अझै प्रभावकारी रुपमा कार्य गर्दै जाने प्रतिबद्धता जनाए।

 

स्रोत: नागरिक दैनिक