सिन्धुज्वालाद्वारा ६४ मेगावाट क्षमताका २ आयोजना निर्माण गर्ने

2747

सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले ६४ मेगावाट क्षमताका दुई आयोजना निर्माण अघि बढाएको छ ।
२०६५ साउन २१ मा स्थापना भएको लिमिटेडको दोस्रो साधारणसभामा दिइएको जानकारी अनुसार लिमिटेडले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा ४३ मेगावाटको अपर नेसम खोला र २१ मेगावाटको अपर नेसम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माणअघि बढाएको हो । सभाले प्र्रबन्धपत्र नियमावलीको संशोधन तथा समितिमा रिक्त रहेको सञ्चालक पदमा ध्रुवकुमार पोखरेललाई नियुक्त गरेको छ ।

साधारणसभाले आर्थिक प्रतिवेदन ०७४/७५, लेखापरीक्षकको प्रतिवेदन ०७४/७५, वित्तीय अवस्थाको विवरण, आय विवरण तथा सो अवधिको नगद प्रवाह विवरण पारित गर्दै आव ०७५/७६ का लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीका अध्यक्ष चूर्णप्रसाद श्रेष्ठलगायतले आयोजनाबारे चर्चा गरेका थिए ।
अपर नेसम खोला जलविद्युत् आयोजना कुल लागत ७ अर्ब रुपैयाँ रहेकोमा संस्थापक सेयरधनीको लगानी ७५%, प्रभावित स्थानीय जिल्लावासीको १०% र सर्वसाधारणका लागि १५% सेयरको व्यवस्था गरेको छ । यसमा लिमिटेड र बैंकको बीचमा वित्तीय व्यवस्थापनको सम्झौता भइसकेको छ । आयोेजना निर्माणका लागि प्रभु बैंकको नेतृत्वमा ५ अर्ब २५ करोडको ऋण सम्झौता भएको छ ।

स्रोत : कारोबार