नयाँ मूल्य माग्दै ठेकेदारले काम रोक्यो

    3144

    म्याग्दी, ७ पुस – सिभिल ठेकेदार भारतको आईभीआरसीएल इण्डिया लिमिटेडले बढेको मूल्य समायोजनको माग गर्दैै राहुघाट जलविद्युत् आयोजनाको निर्माणकार्य रोकेकोे छ ।
    आयोजनाको सुरुङ, विद्युत्गृह, सडक र बाँध निर्माणको जिम्मा पाएको भारतीय कम्पनी आईभीआरसीएलले दुई वर्षअगाडिको मूल्यमा काम गर्न नसक्ने बताएपछि निर्माणकार्य रोकिएको हो । “ठेकेदार कम्पनीले मूल्य समायोजनको मागसहितको पत्र पठाएको छ,” राहुघाट जलविद्युत् आयोजनाका सहायक प्रशासकीय अधिकृत काशीनाथ दाहालले कारोवारसित भने, “तीव्र गतिमा काम भइरहेको अवस्थामा ठेकेदारले नयाँ रेटका बारेमा सर्त तेस्र्याएको छ ।”
    उनका अनुसार २०१० मा भएको सम्झौताअनुसार हरेक सामान, कामदारको ज्याला, ढुवानीलगायत आयोजनालाई आवश्यक पर्ने सबैजसो सामानको मूल्य बढेको बताउँदै ठेकेदारले तत्काल नयाँ मूल्य निर्धारण गर्न अहिलेको बजार मूल्यसमेत राखेर प्राधिकरणमा सर्तसहितको प्रस्ताव पेस गरेको छ । “सर्तका विषयमा छिट्टै निर्णय हुन्छ,” उनले भने, “माग पूरा गर्न नसके नियमअनुसार धरौटी जफत गरी नयाँ प्रक्रियामा जानुपर्ने हुनसक्छ ।” आयोजनाको सिभिल निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र आईभीआरसीएलबीच२ अर्ब ५० करोडको ठेक्का सम्भौता भएको थियो । सो सहमतिअनुसार पिप्लेको चमेरेमा क्रसर, पिप्ले देखि मौवाफाँटसम्म सडकको ट्र्याक खोल्ने काम मात्र गरेको थियो । आयोजनाले परामर्शदाता नियुक्तिमा ढिलाइ गरी जिम्मेवारीअनुसार काम गर्न नदिएको आईभीआरसीएको आरोप छ, तर आयोजना पक्षले भने दुई वर्षसम्म सामान्य काम मात्र गरी महत्वपूर्ण काम गर्ने समयमा ठेकेदारले बेइमानी गर्न खोजेको आरोप लगाएको छ ।
    मूल्य समायोजनको विषयको प्रस्ताव प्राधिकरण प्रमुख, मुख्यसचिव, अर्थसचिव, ऊर्जासचिव सम्मिलित समितिमा प्रस्तुत गरिए पनि गलत नजिर बस्ने भन्दै मूल्य समायोजनको सम्भावना कम रहेको आयोजना स्रोतले जनाएको छ । “चिनियाँ कम्पनीको सिको गरेजस्तो देखिन्छ,” परियोजनाका एक इन्जिनियरले भने, “यस्तै अवस्था हुने हो भने राहुघाट मात्र नभई अन्य आयोजनाको निर्माण कार्यमा समेत समस्या उत्पन्न हुनेछ ।” उनले ठेक्का आफ्नो पक्षमा पार्नका लागि कम मूल्य पेस गर्ने तर निर्माणको क्रममा समस्या देखाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।  आयोजनाले हालै परामर्शदात नियुक्त गरेको छ ।
    विगतमा क्याम्प निर्माणको क्रममा पिप्ले गाविसको–३ मा जमिन भासिएपछि स्थानीयले क्षतिपूर्ति माग गर्दै तीन महिना काम रोकिएको थियो । त्यस्तै मुआब्जा वितरणमा विवाद, विद्युत्गृहदेखि ड्याम साइट सम्मको प्रवेशमार्गमा पर्ने सामुदायिक वनको रूख काट्न वन मन्त्रालयले अनुमति दिन ८ महिना ढिलाइ गरेपछि निर्माणमा समस्या उत्पन्न भएको थियो । पिप्लेमा निर्माण भइरहेको आवासगृह र कार्यालय भवनको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
    आयोजना निर्माणमा स्थानीय राजनीतिक दल, नागरिक समाजलगायत अन्य सरोकारावाला निकायले समेत चासो देखाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले कुनै पनि बहानामा निर्माण कार्यल अवरुद्ध गर्नु नहने बताए । उनले भने, “जिल्लामा भित्रिएको आयोजना यो वा त्यो बाहनामा रोकिएमा त्यो दुर्भाग्य हुनेछ ।” राहुघाट खोलामा निर्माण हुन लागेको आयोजनाको ड्याम झिँ र दग्नाम गाविसको सिमाना निर्माण गरिनेछ । विद्युत्गृहदेखि ११ दशमलव ५ किमि सडकमध्ये पिप्लेदेखि मौवाफाँटसम्मको सडक निर्माण भएको छ । ३२ मेघावाट क्षमताको आयोजनाको पिप्ले ३ मा क्याम्प भवन निर्माण अन्तिम चरणमा रहेको छ । रन अफदि रिभर प्रकारको आयोजना भारत सरकारको सहुलियत ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले ७ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्न लागेको हो । सरकारी प्रक्रियागत जटिलता तथा ठेकेदारका सर्तका कारण सन् २०७१ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यमा समेत असर पर्ने देखिएको छ ।

    प्रस्तुति:  कारोबार