विद्युत् प्राधिकरणले करिब १ हजार ६ सय थान ट्रान्सफर्मर किन्ने भएको छ। त्यसका लागि ट्रान्सफर्मर खरिदसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अन्तिम तयारी भइरहेको छ।
‘ट्रान्सफर्मर खरिद गर्न भोलिसम्म सम्झौतामा हस्ताक्षर हुन्छ,’ प्राधिकरण ग्राहक तथा वितरण सेवा निर्देशनालयका प्रमुख रामचन्द्र पाण्डेले भने, ‘अन्तिम नेगोसियसन भइरहेको छ।’ प्राधिकरण स्रोतले भने नेगोसिएसनको चरण सकिएर हस्ताक्षर हुन मात्र बाँकी रहेको जनाएको छ।
प्राधिकरणले चीनको छियान छिबियान झाङते इलेक्ट्रिक कम्पनीसँग ट्रान्सफर्मर किन्ने सम्झौतामा हस्ताक्षर गर्न लागेको हो। तयार गरिएको सम्झौताअनुसार उक्त कम्पनीले १ हजार ५ सय ८० विभिन्न क्षमताका ट्रान्स्फर्मर प्राधिकरणलाई उपलब्ध गराउनुपर्नेछ। सम्झौताको सर्तअनुसार उक्त कम्पनीले २ खेपमा ४ महिनादेखि ६ महिनाभित्र ट्रान्सफर्मर उपलब्ध गराइसक्नुपर्नेछ।
कम्पनीले प्राधिकरणलाई ११ किलोभोल्ट (केभी) का १९ थान १५ किलोभोल्ट एम्पियर (केभीए), २४ केभीएका १ सय ४३ थान, ५० केभीएका ४ सय४४ थान, १ सय केभीएका ६ सय ४१ थान र २ सय केभीएका २ सय ७२ थान ट्रान्सफर्मर उपलब्ध गराउनेछ। त्यस्तै कम्पनीले ३३ केभीका ५० केभीए ट्रान्सफर्मर २३ थान र १ सय केभीएका ३८ थान ट्रान्सफर्मर उपलब्ध गराउनुपर्नेछ।
स्रोत:कान्तिपुर