कुलेखानीको पाँचौं पटक म्याद थप

    1379

    स्वदेशी लगानीमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको पाँचौं पटक ७ महिना म्याद थप गरिएको छ ।

    विद्युत् प्राधिकरणको गत जेठ ६ गतेको बैठकले आयोजनाको निर्माण कार्य वैशाख पहिलो सातामा सम्पन्न नभएकाले म्याद थप गरेको हो । चौथो पटक थपिएको समयमा आयोजनाको निर्माण सम्पन्न नभएकाले ७ महिना म्याद थप गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

    वैशाख ६ गतेसम्म आयोजनाको निर्माण कार्य सक्ने गरी प्राधिकरणले चौथो पटक म्याद थपेको थियो । त्यस अवधिमा पनि नसकिएपछि प्राधिकरणले सन् २०१६ डिसेम्बर ३० तारेखसम्म म्याद थप गरेको छ । ‘यो अवधिमा निर्माण कार्य सम्पन्न गरिसक्न पनि निर्देशन दिएका छौं,’ प्राधिकरणका एक वरिष्ठ अधिकृतले भने, ‘२०१६ सम्ममा निर्माण कार्य सक्नैपर्छ ।’

    परामर्शदाताको सुझावअनुसार आयोजनाले पाँचौं पटक म्याद थप गर्न प्राधिकरणसमक्ष अनुरोध गरेको थियो । ‘पाँचौं पटक म्याद थप गरेको अवधिमा काम सम्पन्न गर्न सक्दो प्रयत्न गर्ने छौं,’ आयोजना प्रमुख शुभाषकुमार मिश्रले भने, ‘सबै क्षेत्रबाट सहयोग पाइयो भने समयमै काम सम्पन्न हुन्छ ।’

    पछिल्लो पटक सम्पन्न गर्ने म्याद २०७३ वैशाख ६ गते थियो ।

    नेपाल विद्युत् प्राधिकरण र सिभिल वर्कको निर्माण कम्पनी सिनो हाइड्रोबीच क्षतिपूर्तिको विवाद र भारतीय नाकाबन्दीका कारणले आयोजना त्यस अवधिमा सकिएन ।

    ‘चौथो पटक थप गरिएको समयमा इलेक्ट्रोनिक मेकानिकल र सिभिलको काम अगाडि बढ्न सकेन,’ आयोजना प्रमुख मिश्रले भने, ‘नाकाबन्दी खुलेपछि काम सुरु भएको छ ।’

    २०६४ चैतदेखि काम सुरु गरिएको उक्त आयोजना २०६८ सालमा सम्पन्न गर्ने सम्झौता गरिएको थियो ।

    समयमा काम नसेकपछि पहिलो पटक ३० महिना म्याद थपिएको थियो । समयमा पनि काम सम्पन्न नभएपछि ९ महिना म्याद थप गरियो ।

    चौथो पटक थप गरिएको समयमा आयोजना सम्पन्न नहुने भएपछि परामर्शदाताको सिफारिसमा कुलेखानी तेस्रो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसमक्ष ८ महिना म्याद थप गर्न सिफारिस गरेको थियो ।

    स्रोत : कान्तिपुर