जलविद्युत् निर्माणसँगै बसाइँसराई गरेका थातथलो फर्कंदै

1242
विकासको जनसांख्यिक प्रभाव

नुम (संखुवासभा)-राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणले गति लिएसँगै बसाइँ गएकाहरू धमाधम आफ्नै पुरानो थातथलो फर्किन थालेका छन् । आयोजना आसपासबाट बसाइँ गएकाहरू फर्किएर आयोजनामा कामका साथै व्यवसाय सुरु गरेका छन् ।
मकालु गाउँपालिका वडा नम्बर ५ का बलराम कटवाललाई जीवनमा फेरि आफ्नो पुरानै थाकथलोमा फर्कन्छु भन्ने लागेको थिएन कहिल्यै । संखुवासभाको नुममै बितेको थियो उनको जीवनका ऊर्जाशील समय । सुखद जीवनको कल्पना गर्दै २०६० सालमा कटवाल परिवारसहित विराटनगर झरे । विराटनगर–११ पिचरामा घर पनि बनाए । पहाडको चिसो हावापानीमा हुर्किएका उनलाई विराटनगरको गर्मीले औधी सतायो । विराटनगरको हावापानीमा घुलमिल भइसकेका कट्वाल गत फागुनमा पुरानै थाकथलोमा फर्किएका छन् । उनी फर्किनुको एउटै कारण हो– आफू जन्मेहुर्केको गाउँबाट आधा घन्टाको दूरीमा अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण हुनु । उनले नुमबजारमा घर पनि बनाइसकेका छन् । किमाथांका सडक निर्माणले पनि गति लिएको छ ।

“जहाँ गए पनि आखिर मान्छेलाई दुई छाक खानु त रहेछ,” परिवारसहित नुम फर्किएका कटवाल भन्छन्, “आफ्नो गाउँ नजिकै यत्रो आयोजना सञ्चालन भइरहेको छ । यो हाम्रा लागि गौरवको कुरा हो ।” आयोजनाले मुआब्जाबापत राम्रो रकम दिएपछि स्थानीयको जीवनस्तरमा पनि सुधार आएको छ । प्रतिरोपनी ८ देखि १२ लाख रुपैयाँसम्म आयोजनाले मुआब्जा वितरण गरेको छ । धेरै जग्गा हुनेले ६ करोड रुपैयाँसम्म मुआब्जाबापत प्राप्त गरेका छन् । केहीबाहेक अधिकांशले नुमबजारमा पक्की घर बनाए छन् । नुम, पावाखोला, दिदिङ, पाथीभरा, मकालु र याफुका २ सय ६९ परिवारलाई १ अर्ब ३० करोड रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ ।
आयोजनाको बाँधस्थलभन्दा केही माथि नुमबजार पर्दछ । बजारमा जग्गाको मूल्यसमेत आकाशिएको छ । केही वर्षअघिसम्म ३०–३५ हजारमा पाइने घडेरी ४० लाख रुपैयाँ पनि पाउन छाडेको छ हिजोआज । नुममा पछिल्लो एक वर्षमा मात्रै १ सयभन्दा बढी नयाँ घर थपिएका छन् । थपिएका घर आयोजनाबाट मुआब्जा प्राप्त गर्ने र बसाइँबाट फर्केकाहरूले बनाएका हुन् । “पहाडका गाउँहरूले पनि अब रुप फेर्नेछन्,” कटवाल भन्छन्, “सरकारले गाउँ–गाउँसम्म विकास गर्ने हो भने पहाडबाट बसाइँ सर्नेहरूको क्रम रोकिनेछ ।” पछिल्ला केही वर्षयता पहाडी क्षेत्रबाट बसाइँ सर्नेहरूको लर्को नै लागेको छ । तर, अरुण तेस्रो आयोजना आसपासका गाउँमा भने ठीक उल्टो भएको छ । यतिबेला बसाइँ होइन फर्किनेहरूको लर्को लागेको छ । करिब १ खर्ब १६ अर्बको लागतमा आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ ९ सय मेगावाटको अरुण तेस्रो धमाधम निर्माण भइरहेको छ ।
चार वर्ष मलेसिया बसेर फर्किएका गणेश तामाङ पनि आयोजनामै काम गर्न थालेका छन् । तामाङ जस्तै विदेशबाट फर्किएका युवाहरू घरमै बसेर आयोजनामा काम गरिरहेका छन् । कुवेतबाट दसैंमा घर फर्केका चिचिला गाउँपालिका पुखुवाका सन्देश राई पनि आयोजनामै सुभरभाइजरका रुपमा कार्यरत छन् । “अब त कहिल्यै पनि विदेश जान्न,” राईले भने, “सरकारले लगानीको वातावरण बनाउने हो भने हामीजस्ता युवाले विदेशमा आफ्नो ऊर्जाशील समय खर्चिनु पर्ने थिएन ।” यो आयोजनामा राजनीति नगर्न उनको सुझाव छ । सीप र क्षमताअनुसार स्थानीयलाई प्राथमिकतामा राखेर रोजगारी दिएको अरुण तेस्रो निर्माण गरिरहेको भारतीय कम्पनी सतलजअन्तर्गतको एसजेभीएनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शतिसकुमार शर्मा बताउँछन् ।
आयोजना आसपासका क्षेत्रमा उत्पादन हुने तरकारी, दूध, घ्यू, कुखुरा, खसी, चामललगायतले राम्रो मूल्य पाएको छ । बजारमा कारोबार बढेको छ । “आयोजना सञ्चालन भएको छोटै समयमा आसपासको क्षेत्रले मुहार नै फेरेको छ,” स्थानीय कोपिला पराजुलीले भनिन्, “बसाइँ गएका र विदेशिएकाहरू फर्किएकाले अझै उत्साह थपेको छ ।” एउटा आयोजना सञ्चालन हुँदा कति धेरैको जीवनस्तरमा सुधार ल्याउँछ भन्ने अरुण तेस्रो उदाहरण बनेको मकालु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष जापान गुरुङ बताउँछन् । उनी भन्छन्, “आयोजना सम्पन्न भएर स्थानीयले त्यसको फाइदा लिन थालेपछि यो क्षेत्रको कायापलट हुन्छ, ।” प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत्् उपलब्ध गराउनेछ भने सरकारले कुल क्षमताको २१.९ प्रतिशत विद्युत् निःशुल्क पाउनेछ ।

 

स्रोत : कारोबार