२५ मेगावाट सौर्य ऊर्जा उत्पादन हुँदै

2405

(नुवाकोट) — विदुर नगरपालिका–६ देवीघाट कोलनीमा देशकै ठूलो सौर्य ऊर्जा परियोजना निर्माण भैरहेको छ । नेपाल विद्युत् प्राधिकरणले देवीघाटमा जडान गर्न लागेको २५ मेगावाट ग्रिड सोलार प्रोजेक्टले तीन महिनाभित्र १० मेगावाट उत्पादन गर्नेछ ।

दुई चरणमा प्लान्ट निर्माण गर्ने आयोजनाले जनाएको छ । यसका लागि विदुरनगरपालिका ६ वडाभित्र पर्ने देवीघाट जलविद्युत् केन्द्रको कोलनी, रातोमाटे, २ नम्बर कफी क्षेत्रबाहेक फोरवे चौर, केराघारीलगायतका स्थानमा जग्गा सम्याउने कार्य भैरहेको छ । इन्जिनियर विजय मरासिनीले सामग्री आइसकेकाले अब प्यालन राखिने बताए । देवीघाट जलविद्युत् आयोजना निर्माणको क्रममा कर्मचारी आवासका लागि बनाइएको कोलनी भत्काएर जमिन सम्याएर सोलारको नमुना लिने कार्य सकिएको छ । चीनको राइसेन इनर्जी कम्पनीले ईपीसी मोडलमा सोलार पावर जडान गर्न लागेको हो ।

सोलार प्यानल, इनभर्टर, केबल, सुरक्षा लागि आवश्यकीय सामान आइसकेका छन् । सोलार पावर ६ वटा ब्लकमार्फत बिजुली निकालिनेछ । सोलार प्यानल राखी दिउँसो उत्पादित विद्युत् देवीघाटको सबस्टेसनबाट सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । दैनिक सरदर ५ घण्टा सोलारबाट बिजुली उत्पादन हुने प्राधिकरणले जनाएको छ । २५ मेगावाटका लागि ५ सय रोपनी जग्गामा २५ मेगावाट ग्रिड सोलार बन्ने मरासिनीले बताए । प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्नेछ । ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत नेपाल सरकार र विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सोलार पावर निर्माण गर्न लागेको हो । सोलार प्लान्टको लागत ३ अर्ब ८० करोड रुपैयाँ छ ।

हाल नुवाकोटमा ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, २१ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र ५ मेगावाटको तादी खोला सातबिसेमा जलविद्युत् उत्पादन केन्द्र सञ्चालनमा छन् । ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी निर्माणाधीन छ ।
स्रोत : कान्तिपुर