जलविद्युत् आयोजनालाई प्रशारण लाइनको चिन्ता

1320

भाद्र २५, २०७७

लमजुङ :लमजुङमा निर्माण सम्पन्न हुन लागेका दुई जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रशारण लाइनको चिन्ता परेको छ । दोर्दी गाउँपालिकाअन्तर्गत दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ए र मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनालाई प्रशारण लाइनको चिन्ता परेको हो ।

विश्वव्यापी कोरोना भाईरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका आयोजना उत्पादनको अन्तिम तयारीमा पुगे पनि उत्पादित विद्युत् लैजाने राष्ट्रिय प्रशारणलाइन नबन्दा चिन्तित बनेका हुन् । कोभिड–१९ को प्रभावकै कारण राष्ट्रिय प्रशारणलाइन निर्माणकार्य पनि प्रभावित भएको हो ।

गत वैशाख महिनामै विद्युत् उत्पादनको लक्ष्य लिएका दुवै आयोजनाले पूर्वघोषित समयभन्दा झण्डै सात महिना ढिला गरी विद्युत् उत्पादनको तयारी गर्दै छन् । तर आयोजनाको काम सम्पन्न भए पनि त्यो समयसम्म विद्युत् प्रशारणलाइन बन्ने तयारी नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । गत चैत महिनाभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले आगामी दुई महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने दाबी गरेको छ । तर यसअघिको विद्युत् उत्पादनका लागि सरकारसँग सम्झौता गरिएको मिति लकडाउनकै कारण प्रभावित भएपछि अर्को मिति तय नभएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए ।

सरकारबाट उत्पादन मिति तय नभएको र प्राधिकरणले गरेको राष्ट्रिय प्रशारण लाइनको काम पनि लकडाउनका कारण प्रभावित हुँदा थप अन्योल भएको वस्तीले बताए । कोभिड–१९ को प्रभाव अझै पनि जारी रहेकाले काममा सहजता नभए पनि आयोजनाको काम अन्तिम चरणमा पुगेकोले दुई महिनाभित्र विद्युत् उत्पादन गरिसक्ने प्रवद्र्धक वस्तीको भनाइ छ ।
२०७१ असोजबाट निर्माण थालिएको सो आयोजना २०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण पनि निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ । रन अफ रिभर प्रविधिमा बनेको सो आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत रहेको छ ।

यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको २७ मेगावाटको न्यादी जलविद्युत् आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । गत वैशाख महिनामै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजना पनि कोभिड–१९ र सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएको छ ।

आयोजनामा हाल बाँध क्षेत्र, पावर हाउसलगायतका क्षेत्रमा सिभिलतर्फको काम करिब सकिएको र प्राविधिकतर्फ केही काम बाँकी रहेको गुरुङको भनाइ छ । प्राविधिकतर्फको केही सामग्री बाहिरबाट ल्याउनुपर्ने हुँदा देशको विषम परिस्थितिले समस्या परेको र सो सामग्री आउने क्रममा रहेकाले दुई महिनाभित्र विद्युत् उत्पादन हुने गुरुङले बताए ।

आयोजना निर्माण कार्य सुस्त गतिमा भए पनि चालू रहेको गुरुङको भनाइ छ । गुरुङका अनुसार दुई महिनाभित्र आयोजनाको काम सकिए पनि विद्युत् प्रशारण लाइनको काम भने सो समयभित्र सकिने कुनै छाँटकाँट छैन । प्राधिकरणले राष्ट्रिय प्रशारणलाइन बनाउन ढिला गरेपछि आयोजना आफैले पावर हाउसदेखि खुदीको टारीकुनासम्म प्रशारणलाइन बनाउन सुरु गरेको हो । तर लकडाउनकै कारण प्रशारण लाइनको काम प्रभावित भएको छ ।

अँग्रेजी पात्रोअनुसार गत अप्रिल महिनामा काम सम्पन्न भई विद्युत् उत्पादन हुने समय कटिसकेको छ । २०७३ चैतबाट निर्माण सुरु भएको सो आयोजनामा कोभिड–१९ को प्रभावसँगै जारी लकडाउनका कारण निर्माण अवधि लम्बिएको हो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ ।

स्रोत: कारोबार