एडीबीद्वारा दूधकोसी बनाउन ६० अर्बको प्रस्ताव

    1729
    • ७५ घरधुरी मात्र विस्थापित
    • ३० महिनाभित्र अध्ययन पूरा गरिने
    • ४२ महिनाभित्र निर्माण सुरु गर्ने लक्ष्य

    आकर्षक आयोजनाका रूपमा लिइएको ३ सय मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणका लागि दातृ निकाय एसियाली विकास बैंक (एडीबी) ले ६० अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको छ । आयोजनाको सम्भाव्यता अध्ययनका साथै विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातवारण कार्य र टेन्डरका काजपत्र बनाउन अनुदान सहयोग गरेको एडीबीले नै लगानीको प्रस्ताव गरेको हो । एडीबीले आयोजनाको अध्ययन अघि बढाउन चालू आर्थिक वर्षमा ३५ करोड रुपैयाँ अनुदान दिएको छ ।

    नेपाल विद्युत् प्राधिकरण र एडीबीका अधिकारीबीच भएको पटकपटकको बैठकमा एडीबीले प्रस्ताव गरेको हो । प्राधिकरणका अनुसार ७० अर्ब लागत अनुमान गरिएको दूधकोसीको लागि ६० अर्बसम्म लगानी गर्न इच्छा देखाउँदै प्रस्ताव गरेपछि यसबारे छलफल अघि बढे पनि टुंगो भने लागिसकेको छैन ।

    जापान सहयोग नियोग (जाइका) ले पहिचान गरेका उत्कृष्ट १० जलाशययुक्त आयोजनामध्येको एक दूधकोसी आयोजनालाई आकर्षक आयोजनाका रूपमा लिइन्छ । जलाशययुक्त आयोजना बनाउनका लागि सबैभन्दा ठूलो समस्या जग्गा अधिग्रहण तथा मुआब्जा वितरण मानिए पनि सो आयोजनामा ७५ घरधुरी र ५ सय ५० जनसंख्या मात्र विस्थापित हुने अध्ययनको क्रममा देखिएको आयोजना प्रमुख मोहन गौतमले जानकारी दिए । पूर्वाञ्चल क्षेत्रको जलविद्युत् प्रणाली सन्तुलन कायम राख्न सकिने र लोडसेन्टर नजिक रहेको सो आयोजनामा सडकमार्गको पहुँचसमेत पुगिसकेको छ ।

    १ सय ८० मिटर अग्लो बाँध तथा १० किलोमिटर लम्बाइ र ६८ दशमलव ७ करोड घनमिटर भण्डार क्षमता भएको आयोजनाबाट वार्षिक १८ सय ६ गिगावाट आवर अथवा १ अर्ब ८० करोड ६ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाले जनाएको छ ।

    ओखलढुंगा र खोटाङ जिल्लाको बीचमा पर्ने सो आयोजनाको अध्ययन अघि बढाउनका लागि हालै जापानको न्युजेकसँग आबद्ध इटलीको इएलसी इलेक्ट्रोकन्सल्ट एसपीएलाई ३० महिनाभित्र अध्ययन पूरा गर्ने गरी परामर्शदाताका रूपमा नियुक्त गरी आयोजनाले सम्झौतासमेत गरिसकेको छ । ‘परामर्श सेवाका लागि नियुक्त परामर्शदातालाई मूल्य अभिवृद्धि करबाहेक करिब ७३ करोड १८ करोड ६६ लाख ६४ हजार रुपैयाँमा परामर्श सेवा करार सम्झौता भएको छ, अबको ३० महिनाभित्र अध्ययन सक्नुपर्ने व्यवस्था गरिएको छ ।’ आयोजना प्रमुख गौतमले भने, ‘आगामी साउनदेखि परामर्शदाताले सम्भाव्यता अध्ययन र विस्तृत डिजाइनको कार्य सुरु गर्छ ।’ परामर्शताले अध्ययनका क्रममा ८ सय मिटर परीक्षण सुरुङ र १५ सय मिटर लम्बाइको कोर ड्रिलिङसमेत गर्न लागेको छ ।

    आयोजनामा १३ दशमलव २६ किलोमिटर मुख्य सुरुङ, १ सय ६३ मिटर पेटस्टक र ३ सय ७० मिटर टेलरे सुरुङ बनाउनुपर्ने आयोजनाका लागि भूमिगत विद्युत् गृहको प्रस्ताव गरिएको छ । आगामी साढे दुई वर्षभित्र अध्ययन पूरा गरेर एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गरेर ६ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।

    हालसम्म विद्युत् कुल क्षमता ७ सय ५६ मेगावाट मात्र रहेकामा ९२ मेगावाट मात्र जलाशययुक्त आयोजना रहेकाले हिउँदमा बढी अभाव देखिएकाले विद्युत् प्राधिकरणले सस्तो र आकर्षक दूधकोशीलाई विशेष महŒव दिएको छ । सन् १९९५ मा जाइकाले कोसी बेसिनको गुरुयोजना तयार गर्ने क्रममा पहिचान भएको आयोजनाको सन् १९९८ मा विद्युत् प्राधिकरणले सम्भाव्यता अध्ययन गरेको थियो ।

    स्रोत : राजधानी