दिव्यश्वरी हाइड्रोको शेयर असार १३ गतेदेखि खुल्ला

    1209

    दिव्यश्वरी हाइड्रोपावर कम्पनी ले असार १३ गतेदेखि सय रुपियाँ मूल्य अंकित ३ लाख ९६ हजार २ सय ८० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट गत बिहीबार साधारण शेयर निष्काशन अनुमित पाएको थियो। सर्वसाधारण लगानीकर्ताले असार १६ गतेसम्म न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्ता शेयर माग गर्दै आवेदन दिन सक्ने छन्।
    संखुवासभाको धुपु गाविसस्थित सभाखोलामा ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात २ लाख ६४ हजार कित्ता साधारण शेयर जारी गरेको थियो। सर्वसाधारणका लागि छुट्टाइएको शेयरमध्ये ७ हजार ९ सय २० कित्ता शेयर कम्पनीका कर्मकारीका लागि र १९ हजार ८ सय कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको छ।
    कम्पनीले धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न पाएको अनुमति कम्पनीको शेयर पुँजीको जम्मा १५ प्रतिशत हो। इक्रा नेपालले रेटिङ ४ दिएको कम्पनीले साधारण शेयर जारी गरेपछि उसको कुल चुक्ता पुँजी २६ करोड ४० लाख रुपियाँ पुग्नेछ। कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल मार्केट रहेको छ।
    कम्पनीको सेयर किन्न एस क्यापिटल लिमिटेड लालदरबार, एस डेभलपमेन्ट बैंकको नक्साल, कीर्तिपुर, चावहिल, न्युरोड, जावलाखेल, कौशलटार, वीरगन्ज, चितवनको पर्सा र नारायणगढ, मोरङको उर्लाबारी, प्युठानको विजुवाबजार र संखुवासभाको खाँदबारीमा आवेदन बुझाउन सक्ने कम्पनीले जनाएको छ।
    त्यस्तै त्रिवेणी विकास बैंकको इटहरी र विराटनगर शाखा, एक्सेल डेभलपमेन्ट बैंकको विर्तामोड शाखा, एभरेस्ट फाइनान्सको सिद्धार्थनगर शाखा, गरिमा विकास बैंकको महेन्द्रपुल शाखा, मालिका विकास बैंकको धनगढी र कञ्चनपुर शाखामा पनि आवेदन दिन सकिने छ।हाल निर्माणको अन्तिम चरण रहेको आयोजनाले साउनभित्र व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ।

    स्रोत : नेपाल समाचारपत्र