दुई वर्षमा एक हजार ८०० मेगावाट बढी विद्युत

    1094

    सरकारले आगामी दुई वर्षभित्र एक हजार ८४६ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको छ । हिउँदमा एक हजार ४२३ मेगावाट विद्युत्को माग हुने प्रक्षेपण गरेको हो ।

    नदी प्रवाहमा आधारित आयोजनाबाट ६२८ मेगावाट, कुलेखानी तेस्रो सम्पन्न भएपछि जलाशयुक्त आयोजनाबाट १०६ मेगावाट, भारतबाट कुल ९३० मेगावाट विद्युत् आयात गरिनेछ भने नवीकरणीय ऊर्जाबाट २०० मेगावाट विद्युत् उत्पादन हुनेछ ।

    वार्षिक करिब १२ प्रतिशतको दरमा विद्युत्को माग बढ्ने अनुमान गरिएको छ । प्राधिकरणकाअनुसार हाल दैनिक एक हजार ३२५ मेगावाट विद्युत्को माग रहँदै आएकामा ५६० मेगावाट मात्रै आपूर्ति भइरहेको छ । भारतबाट कुल ३१५ मेगावाट विद्युत् आइरहेको छ भने नदीमा जलस्तर घटेको र आयोजनाको उत्पादन समेत कटौती भएकाले हाल आन्तरिक उत्पादन २४५ मेगावाट मात्रै रहेको छ ।

    व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिमा ऊर्जा मन्त्रालयले प्रस्तुत गरेको कार्ययोजनाअनुसार आगामी वर्षको हिउँदमा मागअनुसार आपूर्ति नहुने हुँदा दैनिक पाँच घन्टाको आसपासमा विद्युत्भार कटौती गर्नुपर्ने हुनसक्छ । आगामी वर्ष नदी प्रवाहमा आधारित आयोजनाबाट २९५ मेगावाट विद्युत् थप हुने ऊर्जाको प्रक्षेपण रहेको छ ।

    यस्तै कुलेखानी पहिलो र दोस्रोबाट कुल ९२ मेगावाट, भारतबाट ५८० मेगावाट, नवीकरणीय ऊर्जाबाट १०० मेगावाट गरी कुल एक हजार ६७ मेगावाट विद्युत् उपलब्ध हुनेछ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ३५६ मेगावाट विद्युत् अपुग हुने छ । तर आगामी वर्षामा भारतबाट ९२ मेगावाट मात्रै आयात गर्दा कुल उत्पादन भने एक हजार ५६७ मेगावाट हुने ऊर्जा मन्त्रालयको प्रक्षेपण छ ।

    त्यसै गरी सरकारले विसं २०८२ सम्म कुल दश हजार २०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसारको कार्ययोजना अगाडि सारेको छ ।

    कुल उत्पादनको ५० प्रतिशत जलाशययुक्त आयोजनाबाट परिपूर्ति गर्ने र बाँकी नदी प्रवाहमा आधारित आयोजना तथा नवीकरणीय ऊर्जाबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल निर्माण सुरु गर्ने र नलसिंहगाड आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार पारी अगाडि बढाउने लक्ष्य राखेको छ ।

    बूढीगण्डकी आयोजनालाई चालु आवमा नै निर्माणका लागि तयार पार्ने लक्ष्य राखिएको छ । सो आयोजनाको क्षमता एक हजार २०० मेगावाट र सहायक बाँध बनाउँदा थप ४०० मेगावाट, मुआब्जा वितरण र जग्गाको आवश्यक तयारी गर्ने, सुनकोसी तेस्रो ५३६ मेगावाट, उत्तरगङ्गा ३००, तनहुँ सेती १४०, दूधकोसी ३००, पश्चिम सेती ७५०, तमोर ९६२, खिम्ती ठोसे ५००, लाङटाङ ३००, नौमुरे २४५ तथा नलसिंहगाड ४१० मेगावाटजस्ता जलाशययुक्त आयोजनालाई सो अवधिमा सम्पन्न गर्ने सरकारको योजनामा रहेको छ ।

    यस्तै प्रस्तावित ‘पिकिङ रन अफ रिभर’ आयोजनामा तामाकोसी तेस्रो ६४० मेगावाट, तल्लो अरूण ४००, माथिल्लो अरूण ३३५, अरूण चौथो ३००, किमाथाङ्का अरूण ४३५ मेगावाट आयोजनालाई पनि विसं २०८२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    सरकारले गत फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा सङ्कटकाल निवारण कार्ययोजनालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नका लागि निर्धारण गरिएका कार्ययोजनामा पहिलो प्राथमिकतामा जलाशययुक्त आयोजनालाई जोड दिइएको छ । जलाशययुक्त आयोजनामध्ये बूढीगण्डकीको मात्र तयारी पूरा भएको छ भने अन्य आयोजना अध्ययनको चरणमा रहेका छन् ।

    कुलेखानी बाहेक अन्य आयोजना नदी प्रवाहमा आधारित भएका कारण सुक्खायाममा विद्युत् उत्पादन ६० प्रतिशत भन्दा कम हुँदा जलाशययुक्त आयोजनालाई अघि बढाउन लागिएको हो । यस्तै सरकारबाट अध्ययन भई निर्माणका लागि प्रस्तावित १० आयोजनालाई पनि विसं २०७९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    ती आयोजनामा बुढी गङ्गा २० मेगावाट, घुन्सा ७८, इन्खु खोला २०, सिवा खोला १५, माथिल्लो मेवा खोला १२, माडीखोला १२, तल्लो होगु २३, इखुवा खोला ३०, काबेली तेस्रो २२ र मेवा खोला ५० मेगावाट विद्युत् उत्पादन हुनेछ ।

    ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माकाअनुसार चरम ऊर्जा सङ्कटबाट मुक्ति दिलाउने र राष्ट्रिय आवश्यकता पूरा गर्ने लक्ष्यका साथ कार्ययोजना बनाइएको र त्यसलाई पूर्णरूपमा लागू गरिने छ । यस्तै कानुनी सुधारको व्यवस्था, नीतिगत व्यवस्था, प्रशासनिक निर्णय र प्रक्रियागत सुधार, संरचनागत व्यवस्था एवम् सुधारलाई पनि आगामी व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

    सचिव शर्माकाअनुसार वर्तमान ऊर्जा सङ्कट आधारभूत रूपमा एक वर्षभित्र अन्त्य गर्ने, दीर्घकालीन रूपमा दिगो विद्युतीय ऊर्जा विकासको माध्यमबाट एक दशकभित्र नेपालमा ऊर्जा सुरक्षाको प्रत्याभूति गर्ने गरी कार्ययोजना बनाइएको छ ।