बूढीगण्डकी अध्ययनका लागि साढे १२ करोड निकासा

    1142
    Budhi Gandaki HEP Proposed Dam Site
    Budhi Gandaki HEP Proposed Dam Site

    पुस २३, काठमाडौं  । अर्थ मन्त्रालयले बूढीगण्डकी जलविद्युत् आयोजनाको विस्तृत  परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नका लागि रू. १२ कबरोड ५० लाख निकासा गरेको छ । मन्त्रालयले आइतवार सो रकम नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको सो आयोजनालाई उपलब्ध गराएको बूढीगण्डकी आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले अभियानलाई बताए । ऊर्जा मन्त्रालयले सो आयोजनाका लागि चालू आर्थिक वर्ष २०६९ ÷७० मा रू. २४ करोड मागे पनि रकम अभावका कारण साढे १२ करोडमात्र उपलब्ध गराएको बताइएको छ । सो रकम पहिलो किस्ताका रूपमा ठेकेदार कम्पनीलाई बुझाइने प्राधिकरणका एक उच्च कर्मचारीले बताए । उनका अनुसार फेब्रुअरीको पहिलो सातादेखि ठेकेदार कम्पनीले आयोजनाको काम थाल्नेछ ।

    प्राधिकरणले डीपीआर तयार गर्ने जिम्मा फ्रान्सको ट्र्याकबेल कम्पनीलाई दिएको छ । सो कम्पनीले आयोजना अध्ययनको काम ३० महीनाभित्र सक्ने बताएको छ । यसैबीच बूढीगण्डकी आयोजना विकास समितिले गत साता आयोजनास्थलको भ्रमण गरेको छ । टोलीले स्थानीयवासीसँग छलफल गरेको थियो । स्थानीय बासिन्दाले रोजगारीको व्यवस्था, विस्थापितलाई क्षतिपूर्ति तथा मुआब्जाको व्यवस्था गर्नुपर्नेलगायतका सुझाव दिएको कुँवरले बताए ।

    प्रस्तुति: अभियान