२ वर्षभित्र घर–घरमा ग्यास राख्नुपर्दैनः उर्जामन्त्री

    1493

    काठमाडौं । उर्जा मन्त्री जनार्दन शर्माले विद्युत् उत्पादन बढाएर आउँदो २ वर्षभित्र खाना पकाउने ग्यासलाई प्रतिस्थापन गर्ने बताएका छन् ।

    उनले ऊर्जाको आन्तरिक खपत बढाउने सरकारको योजना रहेको सुनाउँदै २ वर्षभित्र खाना ग्यासमा नभई बिजुलीमा पकाउने गरी आपूर्ति व्यवस्था मिलाइने स्पष्ट पारे ।

    जलस्रोत तथा ऊर्जा पत्रकार समाज (वारेज) ले बुधबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिजुली निकासी हैन आन्तरिक खपतमा जोड दिनुपर्ने बताए । “आज १० हजार मेगावाट उत्पादन गरे पनि स्वदेशमै खपत हुनेछ,” मन्त्री शर्माले भने, “म त्यो बिजुली खपत हुने ठाउँ देखाउन सक्छु ।”
    उनले खपतबाट बढी भएको बिजुली निकासी गर्ने योजना सुनाए ।

    उनले जलविद्युतलाई ५ प्रतिशतमा सहुलियत ऋणको व्यवस्था आवश्यक भएको भन्दै उनले यसमा पहल सुरु गरेको बताए ।
    ऊर्जा देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई अनुरोध समेत गरेको मन्त्री शर्माले जानकारी दिए ।

    सो अवसरमा मन्त्री शर्माले तीला जलविद्युत आयोजनामा कर्णालीबासीलाई लगानीको अवसर दिइने बताए । उनले कर्णालीका प्रत्येक घरबाट स्वपुँजी जुटाएर तिला आयोजनामा लगानी गर्न दिने जानकारी दिए ।  सस्तो आयोजना भएकाले जनतालाई लगानी गर्न दिने उनले स्पष्ट पारे ।

    जनतालाई सेयर दिने भनेपछि स्थानीयस्तरमा समस्या नआउने भन्दै उनले यस विषयमा पहिला नै जनतालाई स्पष्ट पार्न मन्त्री शर्माले लगानीकर्तालाई सुझाव दिए ।

    सो अवसरमा ऊर्जा मन्त्रालयका सह–सचिव दिनेशकुमार घिमिरेले उपभोक्ताले सहयोग गरेकाले विद्युत आपूर्ति व्यवस्थापन गर्न सहज भएको बताए । उपभोक्ताले सहज रुपमा कार्यशैलीमा परिवर्तन गरेर ऊर्जा खपतमा मितव्ययीता अपनाएकाले लोडसेडिङ हटाउन सघाउ पु¥याएको उनले बताए ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण अभियानबाट थप १ अर्ब २५ करोड रुपैयाँ बचत भएको बताए ।  उद्योगीले थप ३ सय मेगावाट बिजुली माग गरेको बताउँदै विस्तारै उद्योगमा आपूर्ति बढाउने जानकारी दिए ।
     

    स्रोत:बाह्रखरी