२१ करोड मुआब्जा वितरण

    1588

    १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट डुबानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि बिहीबार ५ करोड ४२ लाख रुपैयाँ वितरण गरिएको छ । योसँगै अहिलेसम्म कुल २१ करोड १० लाख रुपैयाँ मुआब्जा वितरण गरिएको हो । यसअघि १५ करोड ६८ लाख मुआब्जा वितरण गरिएको थियो ।

    डुबानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा, फलफूल तथा रूखबिरुवाको क्षतिपूर्तिबापतको रकम वितरण गरिएको आयोजनाका सञ्चारविज्ञ सचेन गौतमले जानकारी दिए । आयोजनाले डुबान क्षेत्रको जग्गा अधिग्रहणका लागि गत ५ फागुनबाट मुआब्जा वितरण सुरु गरेको थियो ।

    सरकारले चालू आर्थिक वर्ष ०७३-७४ मा मुआब्जा वितरणका लागि ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । आयोजनाले जलाशयबाट डुबान क्षेत्रमा पर्ने करिब १ हजार २ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । यसका लागि करिब ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको सञ्चारविज्ञ गौतमले जानकारी दिए । आयोजनाको बाँध बनेपछि बन्ने जलाशयले तनहुँका भिमाद, माझकोट, रिसिङ, रानीपोखरी, साभुङ, भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुबानमा पर्नेछन् ।

    जग्गा प्राप्ति ऐन २०३४ मा भएको व्यवस्थाअनुसार तनहुँका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा गत २३ माघ २०७३ मा बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाको डुबान क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरेको थियो । मुआब्जाको राय–सुझाब दिन गठित उपसमितिले डुबान क्षेत्रमा पर्ने जग्गाको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल, जग्गाको अवस्था, किसिम, अवस्थिति, उपभोग, स्थानीय चलनचल्तीको मूल्यका आधारमा दर तय गरी मुआब्जा निर्धारण समितिसमक्ष प्रतिवेदन पेस गरेको थियो । यही आधारमा सरोकारवाला, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतसँग छलफल गरी मुआब्जा निर्धारण समितिले प्रतिरोपनी २ लाखदेखि ८ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको थियो । आयोजनाको १ सय ४० मिटर अग्लो बाँध व्यास नगरपालिकमा पर्नेछ ।

    स्रोत:नयाँपत्रीका