निजी क्षेत्रको उत्पादन ४४१ मेगावाट

    1346

    काठमाडौं: नेपालको निजी क्षेत्रले छोटो समयमै ४४१ मेगावाट विद्युत् उत्पादन गर्न सफल भएको छ । निजी क्षेत्रलाई विद्युत् उत्पादनका लागि खुल्ला गरिएको २५ वर्षमै नेपालको निजीक्षेत्रले कुल जलविद्युत् उत्पादनको झण्डै ५० प्रतिशत विद्युत् उत्पादन गर्न सफल भएको हो ।

    बहुदलीय प्रजातन्त्रपछि २०४९ सालमा आएको नयाँ विद्युत् ऐनले निजीक्षेत्रलाई विद्युत् उत्पादनमा खुल्ला गरेको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार, नयाँ विद्युत् ऐन आएपछि २०५२ सालमा विदेशी नर्बेजियन निजीक्षेत्रले ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गरेको थियो भने नेपालको निजीक्षेत्रले २०५४ सालमा ७.५ मेगावाटको इन्द्रावती तेस्रोले प्राधिकरणसँग पीपीए गरेको थियो ।

    विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार, हालसम्म निजीक्षेत्रले ४४१ मेगावाट बराबरका ६० विद्युत् आयोजना निर्माण गरिसकेको छ । “निजीक्षेत्रले धेरै जलविद्युत् आयोजना निर्माण गरिसकेका छन्, निर्माणका चरणमा पनि धेरै छन्,” उनले भने ।

    प्राधिकरणका अनुसार, विदेशी निजीक्षेत्रको समेत संलग्नामा ४५ मेगावाटको भोटेकोसी, ५० मेगावाटको अपरमस्र्याङदी ‘ए’ लगायतका साथै नेपालको निजीक्षेत्रले २५ मेगावाटको मादी, २२ मेगावाटको माई खोलालगायतका जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेका छन् ।

    • जलविद्युत् उत्पादनमा निजी क्षेत्रको हिस्सा ५०
    • ३ हजार मेगावाट बनाउँदै
    • ६ खर्ब लगानी गर्दै

    निजीक्षेत्रले अधिकांश साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरे पनि निजीक्षेत्रले बनाएका आयोजनाको हिस्सा भने ५० प्रतिशत पुगेको छ । हाल नौ सय मेगावाट बराबर कुल जलविद्युत् उत्पादन छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्वअध्यक्ष डा. सुवर्णदास श्रेष्ठ निजीक्षेत्रले विद्युत् उत्पादनमा ठूलो फड्को मारेको बताउँछन् ।

    “निजीक्षेत्रको विद्युत् उत्पादनको हिस्सामा ५० प्रतिशत पुगेको छ, विद्युत् प्राधिकरण र निजीक्षेत्रको बराबर जस्तो छ ।” उनले भने, “सरकारले निजीक्षेत्रलाई प्रवद्र्धन गर्ने गरी नीति र कार्यक्रम ल्याउनुपर्छ, प्रसारणलाइनलाई बढी जोड दिनुपर्छ, सरकारले घोषणा गरेका सहुलियतहरूको कार्यान्वयन गर्नुपर्छ ।” पछिल्लो समयमा सरकारले विभिन्न कम्पनीहरू निर्माण गरेर आयोजनाहरू निर्माण गर्न लागेकोले सरकार अलि बढी निजीक्षेत्रप्रति अनुदान हुने होकि भन्ने आशंका पैदा भएको उनी बताउँछन् ।

    निर्माण सम्पन्न मात्र होइन, निर्माणाधीन आयोजनाहरूमा समेत निजीक्षेत्र अगाडि देखिएको छ । हाल विद्युत् प्राधिकरणले पीपीए गरिरहेका ४ हजार मेगावाटमध्ये तीन हजार निजीक्षेत्रको छ । “६ खर्ब रुपैयाँ बराबरका ३ हजार मेगावाट जलविद्युत् आयोजना निजीक्षेत्रले निर्माण गरिरहेको छ ।”

    इप्पानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले भने, “यी ७/८ वर्षभित्र निश्चित रूपमा सम्पन्न हुने आयोजना हुन्, यी सम्पन्न भएपछि नेपालको जलविद्युत् निजीक्षेत्रको उपस्थिति अझ बलियो हुन्छ ।”

    सरकारले जलविद्युत् उत्पादनका लागि देखिएका प्रक्रियागत झन्झटको सहजीकरण, सरकारी वन प्राप्तिमा सहजता, निजीक्षेत्रलाई प्रवद्र्धन गर्ने नीति आदिमा सक्रिय भए निजीक्षेत्रको योगदान अझ बढ्दै जाने उनीहरू बताउँछन् ।

    स्रोत:कारोबार