भारतले थप १४५ मेगावाट दिने

    1176

    हामी बिजुली आयातबाट निर्यात गर्ने मुलुक बन्यौं : भारत
    चैत्र १६, २०७३- भारतले नेपाललाई अब छिट्टै थप १ सय ४५ मेगावाट बिजुली उपलब्ध गराउने घोषणा गरेको छ । हालै निर्माण सम्पन्न भएको कटैया–कुसाहा र रक्सौल–परवानीपुरसहितका प्रसारण लाइनबाट उक्त परिमाणमा बिजुली नेपाललाई उपलब्ध गराउने तयारी भएको भारतीय ऊर्जा मन्त्रालयले जनाएको छ । उक्त बिजुली नेपालले प्रतियुनिट ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँ (५ रुपैयाँ ७६ पैसा नेरु) मा किन्नेछ ।

    भारतले कटैया–कुसाहा र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट ५०/५० मेगावाट बिजुली दिनेछ भने बाँकी बिजुली टनकपुर र अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट दिने जानकारी विद्युत् प्राधिकरणका अधिकारीहरूले दिए । केही दिन अगाडि भारतस्थित नेपाली दूतावासले भारत सरकारलाई यी दुई प्रसारण लाइनबाट सकेसम्म छिटो बिजुली दिन आग्रह गरेको थियो । दुई प्रसारण लाइनको निर्माण अघिल्लो महिना नै सकिए पनि भारतले ढिलाइ गरिरहेका कारण नेपालले छिटो बिजुली दिनका लागि आग्रह गरेको हो । प्रशासनिक तहमा ढिलासुस्ती भएपछि नेपाली दूतावासले भारतीय ऊर्जामन्त्री पियूष गोयलको ध्यानाकर्षण गराएको थियो । भारतको ऊर्जा मन्त्रालयले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा भारत अब बिजुली आयात गर्ने मुलुकबाट निर्यात गर्ने मुलुक भएको उल्लेख गरेको छ । विज्ञप्तिमा मन्त्रालयले नेपालतर्फको बिजुली निर्यात छिट्टै १ सय ४५ मेगावाटले बढ्ने उल्लेख गरेको छ । विज्ञप्तिमा भारतले छिमेकी मुलुकसँगको अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई तीव्रता दिएको र निर्यात बढ्दै जाने उल्लेख छ । विज्ञप्तिमा बुधबारदेखि भारतले आफू बिजुली आयात गर्नेभन्दा अन्य मुलुकमा निर्यात गर्ने मुलुक बनेको उल्लेख छ ।

    भारतबाट बिजुलीको आयात बढेपछि हाल प्राधिकरणले राजधानी काठमाडौंसहित देशभर घरायसी उपभोक्तालाई लोडसेडिङ मुक्त गरेको छ भने औद्योगिक कोरिडोरहरूमा दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको छ ।

    भारतले थप बिजुली दिएपछि प्राधिकरणले औद्योगिक करिडोरहरूमा समेत लोडसेडिङ मुक्त गर्न सकिने जानकारी प्राधिकरणले दिएको छ । नयाँ दुई प्रसारण लाइन कटैया–कुसाहा र रक्सौल–परवानीपुरबाट बिजुली आयात गर्नका लागि लागि वार्ता गर्न प्राधिकरणको टोली छिट्टै भारतको भ्रमणमा आउने भएको छ । भारतीय ऊर्जा मन्त्रालयका अनुसार १२ भन्दा बढी विद्युत् नाकाबाट भारतले नेपालमा ४ सय ५० मेगावाटको हाराहारीमा बिजुली निर्यात गरिरहेको छ । नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट मात्र प्राधिकरणले १ सय २० मेगावाट बिजुली आयात गरिरहेको छ ।

    भारतले भुटानबाट बिजुलीको आयात गर्दै आएको छ भने नेपाल र बंगालादेशमा निर्यात गर्दै आएको छ । पछिल्लो समयमा नेपाल र बंगलादेशमा हुने बिजुली निर्यात निकै बढेको भारतको ऊर्जा मन्त्रालयले जनाएको छ । भुटानबाट थप बिजुली निर्यातका लागि भारतले प्रसारण लाइनहरूको निर्माण कार्यलाई तीव्रता दिएको छ

    स्रोत:कान्तिपुर