१४० मेगावाटको तनहुँ जलासययुक्त आयोजना निर्माणका लागि ‘ग्लोबल टेण्डर’ हुँदै

    2613

    असारसम्म ठेक्का सम्झौता गरेर कात्तिकदेखि सिभिल निर्माण थाल्ने तयारी

    काठमाडौं । १४० मेगावाट क्षमताको तनहुँ जलासययुक्त आयोजनाको काम सुरु गर्न प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले आउँदो १ महिनाभित्र अन्तर्राष्ट्रिय बोलपत्र आब्हान गर्ने भएको छ ।

    तनहुँले पहिलो चरण अन्तर्गत आयोजनाको मुख्य बाँध तथा नदी फर्काउनका लागि अस्थायी (कफर) बाँध निर्माण र दोस्रो चरण अन्तर्गत विद्युतगृह, सुरुङ निर्माणका अतिरिक्त हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि बोलपत्र आब्हान गर्न लागेको हो । आउँदो जनवरीभित्र दुवै प्याकेजका लागि अन्तर्राष्ट्रिय बोलपत्र आब्हान गर्ने तनहुँ हाइड्रोका प्रवन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए ।
    दुवै लटका लागि बोलपत्रमा भाग लिने कम्पनीको पुर्वयोग्यता छनौटको काम सकिएकाले जनवरीभित्र बोलपत्र आब्हान गरिसक्ने उनले जानकारी दिए । थिकेका अनुसार प्याकेज १ अन्र्तगत आयोजनाको मुख्य बाँध र नदी फर्काउनका लागि अस्थायी बाँध निर्माणका लागि भारतको जयप्रकाश एसोसियट्स लिमिटेड, सोङदा कर्पोरेशन, कालिका कन्ट्रक्सन जेभी, एससीसी डोकास इन्ट्रिगेडेड, चाइना गेजुवा ग्रुप लिमिटेड र सीएमसी डी रेभेना इटालीले प्रतिस्पर्धामा भाग लिन पाउने भएका छन् ।

    यस्तै दोस्रो चरणमा विद्युत्गृह, सुरुङ निर्माण तथा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि एससीसी हिन्दुस्तान कन्ट्रक्सन कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेशन र सीएमसी डी रेभेन बोलपत्रमा भाग लिनका लागि छनौट भएका छन् । छनौट भएका कम्पनीले मात्र बोलपत्रमा भाग लिन पाउनेछन् ।

    दुवै लटको पुर्वयोग्यता छनौटको काम दाता एसियाली विकास बैंक (एडीबी) ले गरेको हो । गत माघ–फागुनमा तनहुँले दुवै लटको पुर्वयोग्यता छनौटका लागि प्रस्ताव आब्हान गरेको थियो ।

    असारसम्म बोलपत्रको काम सकेर आगामी असोज–कात्तिकदेखि आयोजनाको काम सुरु हुने उनले बताए । सन् २०१७ देखि निर्माण सुरु भई सन् २०२२ सम्म आयोजना सम्पन्न हुने गरी कार्ययोजना तयार भएको थिकेले जानकारी दिए ।

    यस्तै तेस्रो तहमा प्रसारणलाइन तथा सवस्टेशन निर्माण र १७ गाविसमा विद्युतीकरणको पुर्वाधार तयारीको योजना छ । यसअन्र्तगत प्रसारणलाइनको एलाइमेन्टको काम सकिएको छ । पुर्वयोग्यता छनौटको काम सुरु हुन लागेको थिकेले बताए ।

    आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को १८ करोड ४० लाख डलर, युरोपियन इन्भेष्टमेन्ट बैंक (इआईबी) ले साढे ८ करोड र बाँकी ८ करोड ७० लाख डलर सरकार र नेपाल विद्युत प्राधिरकरणले लगानी गर्ने प्रारुप तयार गरिएको छ । हाल लागतको पुनर्मूल्याँकनको काम भइरहेको थिकेले बताए ।

    आयोजनाको पहुँचमार्ग र अन्य पुर्वाधार विकासको काम भइरहेको छ । आयोजनालाई आवश्यक मुआब्जाको मूल्य तय भइसकेको चाँडै वितरण हुने उनले जानकारी दिए । जलासयका लागि मात्र १ हजार २ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । सुरुङको लम्बाइ १ हजार २ सय मिटर छ ।

    नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता हुन बाँकी छ ।

    सरकारले जलासययुक्त आयोजनाको पीपीए दर निर्धारण नगरेकाले पीपीए नभएको उनले जानकारी दिए । आयोजनाबाट वार्षिक ५९ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

    सरकारले तनहुँलाई विद्युत उत्पादन अनुमतिपत्र(लाइसेन्स) दिइसकेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली तनँहुको दमौलीबाट ३९ किलोमिटर लामो २२० केभी प्रसारणलाइनको निर्माण गरी भरतपुर पु¥याइनेछ । यस्तै आयोजनाले तनहँुका १८ गाविसमा विद्युतीकरणको पुर्वाधार पनि निर्माण गर्नेछ ।

    जलासययुक्त आयोजना तनहुँले सुख्खायाममा पनि दैनिक ६ घण्टा पूर्ण क्षमतामा र बाँकी समय कम क्षमतामा विद्युत् उत्पादन गर्नेछ । सरकारसँगको सम्झौताअनुसार आयोजनाको ठेक्का सम्झौतालगायत अन्य कामको जिम्मा लगानीकर्ता एडीबी र जाईकाले गर्नेछन् ।

    यस्तै परामर्शदातामा जर्मनीको ल्याह्मेयर इन्टरनेशनल रहेको छ । उसले १ वर्ष बोलपत्र तयारी, ६ वर्ष आयोजना निर्माण र ५ वर्ष सञ्चालन गरी १२ वर्षसम्म काम गर्नेछ । सुख्खायामको विद्युत् माग पुरा गर्न सरकारले तनहुँ आयोजना बनाउने तयारी गरेको हो । आयोजना बनाउन विद्युत् प्राधिकरणअन्र्तगत सहायक कम्पनी गठन गरिएको छ ।

    स्रोत:बाह्रखरी