हिउँदमा उद्योग पनि लोडसेडिङमुक्त : ऊर्जामन्त्री

    1006

    काठमाडौं : ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले आगामी हिउँदमा उद्योगलाई समेत लोडसेडिङमुक्त गराउने बताएका छन् । मंगलबार ललितपुरमा सञ्चारकर्मीसँगको भेटमा मन्त्री शाहीले हाल देशभर लोडसेडिङमुक्त नभएकाले यसलाई मुक्त गर्ने र उद्योगधन्दामा हुँदै आएको लोडसेडिङ अन्त्य गराइने बताए ।

    “आयोजनाहरू रोकावट नभए लोडसेडिङमुक्त गराउन ल्याइने योजना कार्यान्वयन भए सर्वसाधारण र उद्योगधन्दा दुवैलाई लोडसेडिङमुक्त गराउँछु,” उनले भने । ऊर्जा विकासका लागि छिट्टै विशेष कार्ययोजना ल्याउन लागेको जानकारी दिँदै मन्त्री शाहीले लोडसेडिङमुक्त अभियानमा ऊर्जा मन्त्रालयलाई वनलगायतका अन्य सरोकारवाला मन्त्रालयले सहयोग गर्नुपर्ने बताए ।

    उनले आफू कर्णाली जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि भएको र हालसम्म कर्णालीमा एक किलोवाट पनि विद्युत् उत्पादन नभएको भन्दै उनले कर्णाली क्षेत्रमा छिट्टै प्रसारणलाइन पुर्याइने बताए । नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानी आवश्यक रहेको बताउँदै आकर्षक योजना नेपालले बनाउने तथा कम आकर्षक तथा बढी लगानीका योजनाहरू विदेशी लगानीकर्ता ल्याएर दिने योजना रहेको बताए ।

    “अन्तर्राष्ट्रिय लगानीकर्तालाई रातो कार्पेट भित्र्याएर लगानीका लागि ल्याउने योजना छ ।” उनले आफ्नो विशेष योजनाबारे बताउँदै भने, “पानीबाट राष्ट्र समृद्ध हुनसक्छ, विरोध गरेर क्रान्तिकारी हुन्छु भन्ने भावना त्याग्नुपर्छ ।” उनले नेपालमा गफ गर्नेहरू प्रशस्त भए पनि काम गर्ने कम भएको बताउँदै उत्पादनलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

    नेपाल विद्युत् प्राधिकरणमा संस्थागत भ्रष्टाचार रहेको बताउँदै उनले विद्युत् प्राधिकरण पारदर्शिता कायम गर्न आफू सक्रिय रहने बताए । चुहावट ठूलो समस्याको रूपमा रहेको बताउँदै उनले चुहावट नियन्त्रणलाई विशेष कार्यक्रम अघि बढाउने बताउँदै इमान्दारिताका साथ ऊर्जा विकासमा सक्रिय रहने बताए ।

    स्रोत : कारोबार