सार्दीखोला जलविद्युत् आयोजना निर्माण पूरा

    1767

    भाद्र १४, २०७४- माछापुच्छ्रे गाउँपालिकामा ४ मेगावाट क्षमताको सार्दीखोला जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । मन्दाकिनी हाइड्रोपावरले करिब ७० करोड रुपैयाँको लागतमा आयोजना बनाएको हो ।

    दुई वर्षमा सक्ने गरी ०७० असार २७ मा शिलान्यास भएर निर्माण थालिएको आयोजना झन्डै २ वर्ष ढिलो गरी निर्माणको काम सकिएको छ । आयोजनाको हेडवक्र्सदेखि विद्युत्गृहसम्मको सबै उपकरण परीक्षण सम्पन्न भइसकेर केन्द्रीय प्रसारण लाइनमा जोड्ने ट्रान्समिसन लाइनको टेस्टिङको काम सुरु भएको आयोजना प्रमुख देवेन्द्र केसीले बताए । ‘हालसम्म सबै परीक्षण सफल भएको छ,’ आयोजना प्रमुख केसीले भने, ‘ट्रान्समिसन लाइनको टेस्टिङपछि विद्युत् परीक्षण उत्पादन हुनेछ ।’ मन्दाकिनीका अध्यक्ष लालकृष्ण केसीका अनुसार परीक्षण उत्पादनलगत्तै विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

    बढीमा दुई सातामा आयोजनाको बिजुली केन्द्रीय लाइनमा जोडिने उनले बताए ।

    उत्पादित बिजुली १६ किलोमिटर दक्षिण पश्चिमस्थित हेम्जाको बाँस्कोटस्थित विद्युत् प्राधिकरणको सबस्टेसनमा लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । यसका लागि आयोजनाले करिब ३ सय पोल प्रयोगमा ल्याएको छ । भूकम्प, नाकाबन्दीलगायत अवरोधले निर्माण लागत केही बढेको आयोजनाले छ । स्थानीय सार्दीखोलाको पानीलाई ३ किलोमिटर पाइपको माध्ययमबाट विद्युत्गृहमा पुर्‍याई बिजुली निकालिएको छ ।

    आयोजनाले विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता गरेको छ । आयोजनाको सम्झौता अवधि ३० वर्ष रहेको छ ।

    स्रोत: कान्तिपुर